एजेन्सी । प्रिमियर लिगको यस सिजनको उपाधि विजेता लिभरपुलले ईतिहाद स्टेडियममा नमिठो हार आत्मसाथ गरेको छ । बिहिबार राति साविक विजेता सिटीले घरेलु मैदानमा लिग च्याम्पियन लिभरपुललाई ४–० ले हराएको छ ।
सिटीको जितमा केभिन डी ब्रुईनी, रहिम स्टर्लिङ, फिल फोडिनले एक एक गोल गरे । घरेलु टोलीले एक आत्मघाति गोल उपहार पाएको थियो । लिभरपुलले ३० बर्षपछि प्रिमियर लिगको उपाधि जितेको छ । गत साता चेल्सीले म्यान्चेष्टर सिटीलाई हराएपछि लिभरपुलको उपाधि यात्रा सम्भव भएको थियो । तर ‘गार्ड अफ अनर’ सहित ईतिहादमा सम्मान गरेको सिटीले लिभरपुललाई लज्जास्पदक हार दिलायो । डी ब्रुईनीले पेनाल्टीमा सिटीलाई अग्रता दिलाए । जोए गोमेजले स्टर्लिङलाई डिबक्सभित्र लडाएपछि सिटीले पेनाल्टीको अवसर पाएको थियो । उनै स्टर्लिङले काउन्टरमा गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाएका थिए ।
ब्रुुईनीसंगको तालमेलमा फोडिनले पहिलो हाफको अन्तिम मिनेटमा सिटीलाई ३–० ले अघि बढाए । उनले सिटीका लागि सिजनको सातौं गोल गर्न सफल रहे । लिभरपुलका अक्सलाडे चेम्बरलिनले ६६ औं मिनेटमा आत्मघाति गोल गरेपछि सिटी ४–० ले अघि बढेको थियो । साविक विजेता सिटीले लिग विजेता लिभरपुलमाथि फराकिलो जित निकाल्दै राहतको महशुश गरेको छ । दोस्रो स्थानको सिटीको ६६ अंक छ । उपाधि विजेता लिभरपुलको ८६ अंक छ ।