लकडाउनमा पनि चितवनको क्रिकेट रंगशालामा काम निरन्तर - Pahilo Online

लकडाउनमा पनि चितवनको क्रिकेट रंगशालामा काम निरन्तर

writer

चितवन । धुर्मस–सुन्तली फाउण्डेशनले निर्माण चितवनमा गरिरहेको रंगशालाको काम चैत्र ९ गतेबाट रोकिएको थियो । तर, बैशाख २० गतेदेखि पुनः कामदारलाई सुरक्षित अवस्थामा राखेर काम सुचारु गरिएको हो । फाउण्डेशनले सीमित जनशक्ति र स्रोत–साधानमा काम अघि बढाइरहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मस’ले बताए । अहिले रंगशालामा १० जना प्राविधिक तथा एक सयभन्दा बढि मजदुरले काम गरिरहेका छन् । रंगशालामा प्याराफिटका लागि पिलर उठाउने क्रम जारी छ । पिलरका लागि पिसिसी गर्ने काम लकडाउनअघि नै सकिएको थियो । तर, लकडाउनका कारणले रोकिएको पिलरको काम अहिले भइरहेको धुर्मुले बताए ।

पिलर उठाउने काम करीव ३५ प्रतिशत भागमा भैसकेको छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चारवटा ब्लकमा रहने प्याराफिटको ‘ए’ र ‘बि’ को काम भैरहेको छ । आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर इन्जिनियर मणि दासले दिएको जानकारी अनुसार एक लाइनमा पाँचवटा पिलर रहनेछन् । प्याराफिटको पहिलो स्टेप डिपिसी लेभलबाट १ मिटर २० सेन्टिमिटरको उचाइसम्म रहनेछ भने, पाँचौ पिल्लर २१ मिटर उचाईको हुने दासले बताए ।

रंगशालाको मैदानमा अहिले पाँगो माटो भर्ने कामसमेत भैरहेको छ । बर्षाका कारणले केही भागमा पानी भरिएकोले काम गर्न असहज भएको उनले बताए । मजदुर तथा प्राविधिकहरुलाई क्वारेन्टाइनमा राखेर काम गरिएको छ । उनीहरु आफूखुसी बाहिर जान पाउँदैनन् । लकडाउनका कारणले निर्माण सामाग्री पाउन पनि समस्या भएको धुर्मुस बताउँछन् । ‘लकडाउन नभएको भए तीन सिफ्ट बनाएर रातभर काम गर्ने योजना थियो, अहिलेसम्म सबै पिल्लर उठिसकेका हुने थिए, तर अहिले कामदार पाउन पनि गाह्रो भयो, निर्माण सामाग्री पनि सहज रुपमा उपलब्ध छैन’ उनले भने ।

चितवन जिल्लाको प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिले आवश्यक सहयोग र समन्वय गरिरहेकोले विस्तारै सहज हुँदै जाने विश्वास उनको छ । कामदार थप्न पाए र निर्माण सामग्री सहज भए असारअघि सबै पिलरको काम सक्ने योजना रहेको उनले बताए । अघिल्लो बर्षको जेठबाट निर्माण कार्य थालिएको रंगशालामा अहिलेसम्म १४ करोड ५० लाख ९९ हजार खर्च भएको फाउण्डेशनले जनाएको छ । झण्डैं तीन अर्व लागत अनुमान गरिएको रंगशालामा दाता तथा विभिन्न स्रोतबाट ११ करोड ३७ लाख ५० हजार रुपैयाँ संकलन भएको फाउण्डेशनका अध्यक्ष धुर्मसले जानकारी दिए ।

गत आर्थिक बर्ष फाउण्डेशनसँग मौज्दात रहेको २ करोड १४ लाख र विभिन्न दाताहरूबाट प्राप्त १ करोड ४० लाख रकम गरी जम्मा ३ करोड ५४ लाख १२ हजार ६ सय ५५ रुपैयाँ आम्दानी एवम् खर्च भएको छ । यस्तै, चालु आर्थिक बर्षको जेठ मसान्तसम्म ५ करोड ८३ लाख ३७ हजार ७ सय ८९ रुपैयाँ विभिन्न दाताहरुबाट संकलन भएको र धनधान्याञ्चल महोत्सवबाट पेश्कीवापत दुई करोड रकम गरी ७ करोड ८३ लाख ३७ हजार आम्दानी एवम् खर्च भएको फाउण्डेशनका लेखा अधिकृत मुक्ति तिमिल्सिनाले जानकारी दिए ।

धनधनाञ्चल महोत्सवबाट दिइएको ७ करोड १४ लाखमध्येबाट थप २ करोड ५४ लाखसमेत फाउण्डेशनको खातामा जम्मा भएको उनले बताए । महोत्सवबाट दिइएको चेकबाट सबै रकम जम्मा भएपछि आम्दानीमा जोडिने उनको भनाइ छ । फाउण्डेशनले विभिन्न सप्लार्यसलाई झण्डै तीन करोड रकम तिर्न बाँकी छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes