फिफाको सहयोगमा एन्फाले पोखरामा बहुउद्धेश्यीय ट्रेनिङ सेन्टर बनाउने - Pahilo Online

फिफाको सहयोगमा एन्फाले पोखरामा बहुउद्धेश्यीय ट्रेनिङ सेन्टर बनाउने

writer

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गण्डकी प्रदेशको पोखरामा बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को सहयोगमा एन्फाले पोखराको माछापुच्छ्रे गाउँपालिकास्थित भेडाबारीमा बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने भएको हो ।

एन्फाले ट्रेनिङ सेन्टर निर्माणका लागि नयाँ आर्थिक बर्षमा १७ करोड ५५ लाख रुपैयाँको बजेट समेत छुट्याएको छ । सोमबार बसेको कार्यसमिति बैठकले ट्रेनिङ सेन्टर निर्माणका लागि करिब साढे १७ करोड रुपैयाँको बजेट पारित गर्ने निर्णय गरेको हो ।

‘परियोजनाको पहिलो चरणको बजेटमात्र पारित भएको छ ।’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, ‘सबै काम सकिएको छ । अब नयाँ आर्थिक बर्षबाट निर्माणको टेण्डर प्रक्रिया अघि बढ्छ ।’ करिब २ सय ५२ रोपनी जग्गामा निर्माण हुने फुटबल ट्रेनिङ सेन्टरका लागि गाउँपालिकाले जग्गा उपलब्ध गराएको हो । ट्रेनिङ सेन्टर निर्माणको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) अनुसार करिब ३५ जनासम्म राख्ने मिल्ने चार बेग्ला बेग्लै होस्टेल निर्माण गरिनेछ ।

’ड्रिम प्रोजेक्ट’को रुपमा निर्माण गर्न लागेको ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समुहको अभ्यास तथा ट्रेनिङहरु सञ्चालन गर्ने लक्ष्य राखिएको छ । ‘फुटबल संघका आन्तरिक गतिविधि मात्र हैन, बाहिर देशबाट आएका टिमलाई समेत राख्न मिल्ने गरि परियोजना बन्नेछ ।’ अध्यक्ष शेर्पाले भने, ‘यसलाई आफ्नै आन्तरिक आम्दानीबाट चल्ने गरि सञ्चालनमा ल्याउने योजना छ ।’

एन्फाले तयार पारेको डीपीआर अनुसार ट्रेनिङ सेन्टरभित्र ५ हजार दर्शक क्षमता सहितको तीन प्राकृतिक मैदान बन्नेछन् । परियोजना अन्तर्गत दुई कृतिम (आर्टिफिसियल) मैदान, दुई बालुवाको मैदान सहित स्विमिङ पुल, रेष्टुरेन्ट, पुस्तकालय, जिमहल र एक अन्तराष्ट्रिय मापदण्डको कन्फरेन्स हल समेत निर्माण गरिनेछ । फिफाले तीन चरणको परियोजना निर्माणको काम सक्न एन्फालाई निर्देशन दिएको छ ।

‘फिफाले तीन चरणमा परियोजना सक्न भनेको छ । पहिलो चरणको काम सकिएपछि थप बजेट प्राप्त हुनेछ ।’ शेर्पाले भने, ‘नियमित बजेट भन्दा अरु बजेट पनि आउन सक्छ । प्रदेश र केन्द्रिय सरकारले समेत सहयोग गरेमा परियोजना चाँडै सम्पन्न हुनेछ ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes