एजेन्सी । कोरोना भाईरसको कारण रद्द भएको फ्रान्सको शीर्ष डिभिजनको लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई प्रदान गरिने भएको छ । लिगको शीर्ष स्थानमा रहेको कारण रद्द लिगको उपाधि पीएसजीलाई दिन लागिएको डेलीमेलले जनाएको छ ।
कोरोनाको महामारीका कारण सरकारले आगामी सेप्टेम्बरसम्म सबै खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेपछि चालु सिजनको लिग रद्द भएको थियो । फ्रान्सका प्रधानमन्त्री एडुवार्ड पिलिपेले मंगलबार खेलकुद गतिविधि सेप्टेम्बरसम्म बन्द गरिएको घोषणा गरेका थिए ।
लिग स्थगित हुँदा पीएसजी ६८ अंकसहित शीर्ष स्थानमा रहेको थियो । मार्सेली ५६ अंकसहित दोस्रो स्थानमा रहेको थियो । कोरोनाको कारण यस अघि डच लिग रद्द भईसकेको छ ।