पोखरा । पाँच पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो । मनाङको जितमा फ्लोरेन्ट, विमल राना र अन्जन बिष्टले एक एक गोल गरे । आर्मीका भरत खवास र दिप कुमार लामाले एक एक गोल फर्काए । रोमान्चक बनेको खेलको चौंथो मिनेटमा फ्लोरेन्टले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाएका थिए ।
२९ औं मिनेटमा विमलले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए । तर, ४१ औं मिनेटमा भरतले गोल गर्दै आर्मीलाई २–१ को स्थितिमा ल्याए । खेलको ८१औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८२ औं मिनेटमा दिप कुमारले एक गोल फर्काएपनि आर्मीको हार टार्न सकेनन् ।
अब मनाङले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्ने छ । फाइनल खेल शनिबार हुनेछ । पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लबलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगिसकेको छ । सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।