एजेन्सी । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको संक्रमितको संख्या चीनपछि सबैभन्दा धेरै इटालीमा देखापरेको छ । चीनमा संक्रमितको संख्या घटेसंगै कोरोना भाइरसविरुद्व लड्न चीनले इटालीलाई मेडिकल सामाग्री आपूर्ति गर्ने भएको छ ।
चीन आफैँ कोरोना संक्रमणविरुद्व लड्दै गरे पनि चीनले इटालीलाई भारी मात्रामा मास्क तथा अन्य मेडिकल सामाग्रीहरू प्रदान गर्ने भएको हो । मेडिकल सामाग्री सहयोग गर्ने विषयमा चीन र इटालीका विदेशमन्त्रीबीच फोनवार्तामार्फत भएको जानकारी मिडियाहरूमा उल्लेख गरिएको छ ।
इटालीमा मास्क र स्यानिटाइजरको कमि आएपछि इटाली सरकारले चीनसँग अपेक्षा राखेका कारण चीनले भाइरसविरुद्व लड्न सदैव तयार रहेको विदेशमन्त्री बांगले जनाएका छन् । चीनले इटलीलाई लंग भेन्टिलेटर मास्क, हाई टेक मास्क, प्रोटेक्टीभ सुट प्रदान गर्ने जनाइएको छ । चिनियाँ कार्गो विमानले २६.४ टन बराबरका मेडिकल सामाग्री लिएर पूर्वी चीनका झेजियांग प्रान्तको हांग्जो जियाओशन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट बुधबार उडान भरेको जनाइएको छ ।
इटालीमा बुधबार बिहानसम्म १० हजार १ सय ४९ जनालाई कोरोना संक्रमण देखिएको छ भने ६ सय ३१ जनाको मृत्यु भइसकेको छ । इटालीले देशका सबै नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ ।