लेगोस । नाइजेरियाली सेनाका एकजना सिपाहीले बुधबार आफ्नै चारजना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत् उनले चलाएको बन्दुकबाट अरु दुईजना घाइते भएको उल्लेख छ ।
सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताए । उक्त घटनाका बारेमा सेनाले छानबिन सुरु गरेको पनि प्रवक्ता मुसाले बताए ।
यसैगरी अमेरिकाको विस्कन्सिन राज्यको मिल्वाकीमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा पाँचजनाको मृत्यु भएको छ । मिल्वाकीमा रहेको मोल्सन कूर्स कम्पनी परिसरमा गोली प्रहार गरेका थिए । आफैलाई गोली प्रहार गर्दा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । गोली प्रहारका क्रममा कम्पनीका कर्मचारीहरुबीच भागदौड मच्चिएको थियो । आक्रमणकारी ५१ वर्षका स्थानीय रहेको प्रहरीले जनाएको छ । घटना लगत्तै सो क्षेत्रका शिक्षण संस्था बन्द गरी अनुसन्धान थालिएको छ ।