थ्री स्टार क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा सोमबार बेलबारी फुटबल क्लब मोरङलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।
थ्री स्टारको जितमा सन्जोग राईले दुई गोल गरे । यस्तै सुशील राईले एक गोल गरे । अब थ्री स्टारले सेमिफाइनलमा सतासीधाम स्पोर्टिङ क्लबसँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत मंगलबार त्रिभुवन आर्मी क्लब र दार्जी्लिङको एम.एफ.सीसँग खेल्नेछ ।
सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख नगद पाउने छ। उपविजेताले ३ लाख पाउने छ । यस्तै प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररले २५ हजार पाउने छन् ।
त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०, २० हजार पाउने छन् ।
खेलकै अर्को प्रसङ्गमा भारतको हिरो महिला लिग फुटबल खेलेर नेपाली राष्ट्रिय टोलीका फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत स्वदेश फर्किएका छन् । च्याम्पियन टिम गोकुलम केरेलाबाट खेलेकी सावित्रा र सेमिफाइनलसम्म पुगेको सेथु एफसीबाट खेलेकी अनिता सोमबार स्वदेश फर्किएकी हुन् ।
गोकुलमलाई च्याम्पियन बनाउन सावित्राले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । फाइनलमा सावित्राको निर्णायक गोलले गोकुलमले क्रिप्सा एफसीलाई ३(२ गोल अन्तरले हराएको थियो । अन्तिम केहि मिनेट बाँकी हुँदा सावित्राले गोल गर्दै टोलीलाई च्याम्पियन बनाएकी थिइन् ।
सावित्रा लिगको सर्वा्धिक गोलकर्ता समेत बनिन् । सावित्राले कुल १६ गोल गरेकी थिइन् । गत सिजन सेथुले उपाधि जित्दा सावित्राले सेथुका लागि उत्कृष्ट खेलेकी थिइन् । अनिताको सेथु भने सेमिफाइनलमा गोकुलमसँग पराजित भएको थियो । लगातार दोस्रो सिजन सेथुबाट खेलेकी अनिताले गोल भने गर्न सकिनन् ।
सावित्रा र अनितालाई एन्फा महिला कमिटिका अध्यक्ष पेमा लामा, राष्ट्रिय महिला टिमका पूर्व प्रशिक्षक हरि खड्का लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।