आर्मीलाई हराउँदै मछिन्द्र ‘ए’ लिग च्याम्पियन - Pahilo Online

आर्मीलाई हराउँदै मछिन्द्र ‘ए’ लिग च्याम्पियन

writer

काठमाडौं । मछिन्द्र फुटबल क्लबले पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो ।

विस २०६० सालमा पहिलो पटक ‘ए’ डिभिजन लिगमा उक्लिएको मछिन्द्रले १६ वर्षपछि लिगको उपाधि जितेको हो । उपाधिसँगै मछिन्द्रले ५० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले ३५ लाखमा चित्त बुझाएको छ ।

फाइनल सरह रहेको अन्तिम खेलमा मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । निकै रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए ।

रञ्जित धिमालको फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेका थिए । त्यहीँ विकासको आत्मघाती गोलले आर्मी भने पहिलो पटक लिगको उपाधि जित्नबाट बन्चित बन्यो । खेलमा मछिन्द्रका आन्द्रेस निया म्यान अफ दि म्याच चुनिए ।

जितसँगै मछिन्द्रले १३ खेलमा ३१ अंक जोड्दै उपाधि जितेको हो । गत सिजन खराब प्रदर्शनको कारण १ अंक सुरुवातबाटै घटेको मछिन्द्रले १३ खेलमा १० जित, २ बराबरी र १ हारको नतिजा निकाल्यो ।

उपाधि जित्ने क्रममा मछिन्द्रले आर्मीलाई २ अंकले पछि पार्यो ।अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्यो । आर्मीले ९ जित, २ बराबरी र २ हारको सामना गर्यो ।

यस्तै लिगमा २८ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लब तेस्रो, २६ अंक जोडेको थ्री स्टार चौंथो र २० अंक जोडेको नेपाल पुलिस क्लब पाँचौं स्थानमा रह्यो । १९ अंक जोडेर जावलाखेल युथ क्लब छैटौं स्थानमा रहन सफल भयो । अब शीर्ष ६ टोलीले आगामी बैशाखमा हुने राष्ट्रिय लिग खेल्नेछ । यस सिजन ४ अंक जोडेको सरस्वती युथ क्लब ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes