सहिदस्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेडलाई हराउँदै आर्मी शीर्ष स्थानमा - Pahilo Online

सहिदस्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेडलाई हराउँदै आर्मी शीर्ष स्थानमा

आजै भएको २ खेलमा थ्री स्टार क्लव र मनाङ मस्र्याङ्दी विजयी

writer

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।

आर्मीको जितमा कप्तान भरत खवास, विकास तामाङ र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । भरतले जर्ज प्रिन्स कार्कीको क्रसमा हेड गोल गरेका थिए ।

यस गोलसँगै नेपाली राष्ट्रिय टोलीका फरवार्ड समेत रहेका भरतले नेपाली फुटबलकै माथिल्लो श्रेणीको ’ए’ डिभिजन लिगमा ५० गोल पुरा गरेका छन् । ‘ए’ डिभिजन लिगमा ५० गोल पुरा गर्ने भरत सातौं खेलाडी हुन् । भरतले बिस २०६३ सालमा संकटा क्लबबाट शीर्ष डिभिजन लिगमा डेब्यु गोल गरेका थिए ।

यस अघि लिगमा बसन्त थापा, रमेश बुढाथोकी, सुरेन्द्र तामाङ, सन्तोष साहुखल, गणेश लावती र अनिल गुरुङले ५० गोल गरिसकेका छन् । लिगमा १०० गोल पुरा गर्ने कीर्तिमान भने च्यासलका सन्तोष शाहुखलको नाममा रहेको छ ।

खेलको ५४ औं मिनेटमा विकास तामाङले गोल गर्दै आर्मीको अग्रता २–० को बनाए । उनले सन्तोष तामाङको पासलाई सदुपयोग गरे । त्यसपछि खेलको ७० औं मिनेटमा टेकले गोल गर्दै आर्मीलाई ३–० को जित दिलाए । उनले ब्रिगेडका किपर विशाल सुनारले पन्च गर्दै फ्यालेको रिबाउन्ड बलमा गोल गरेका थिए ।

जितसँगै आर्मीले उपाधि होड बलियो बनाएको छ । र, शीर्ष स्थानमा १ अंकको अग्रता बनाएको छ । आर्मीले १२ खेलमा २९ अंक जोडेको छ । दोस्रो स्थानको मछिन्द्रको २८ अंक रहेको छ । पराजित ब्रिगेड ८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

आर्मीको जितसँगै लिगको उपाधिको छिनोफानो अन्तिम खेलले तय हुने भएको छ । लिगको अन्तिम चरणको अन्तिम खेलमा आर्मी र मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र मछिन्द्रबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फागुन ३ गते हुनेछ । आर्मीलाई उपाधि जित्न बराबरीले पुग्नेछ भने मछिन्द्रलाई स्पष्ट जितको आवश्यकता रहेको छ।

आजै भएको अर्को खेलमा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार केहि बेरका लागि तेस्रो स्थानमा उक्लिएको थियो।

थ्री स्टारको साँघुरो जितमा दिपेश घलेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दिपेशले गोल गर्दै थ्री स्टारलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका दिपेशले ७७ औं मिनेटमा निर्णायक गोल गरे । सुशील राईको स्थानमा मैदान छिरेका दिपेशले मैदान पसेको चार मिनेट नबित्दै डिबक्स बाहिर प्राप्त बललाई पोस्टको जाली चुमाएका थिए ।

खेलमा थ्री स्टारका गोलकिपर प्रिसो म्यान अफ दि म्याच चुनिए । जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्री स्टारले १२ खेलमा २३ अंक जोडेको छ । यस्तै थ्री स्टार प्रतियोगिताको सुपर सिक्समा स्थान पक्का गरेको छ ।

त्यसैगरी अर्को खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब लिगको तेस्रो स्थानमा उक्लिएको छ । १० खेलाडीमा सिमित विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ तेस्रो स्थानमा उक्लिएको हो ।

एन्फा कम्प्लेक्समा मनाङलाई जित दिलाउन विमल राना र अन्जन बिष्टले एक एक गोल गरे । मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ३२ औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २–० को जित दिलाए । यस्तै खेलको ९० औं मिनेटमा विशाल बस्नेतले रातो कार्ड पाएपछि पुलिस १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै मनाङले शीर्ष दुई टोलीसँगको अंक दुरी समेत घटाएको छ । मनाङले १२ खेलमा २५ अंक जोडेको छ । पराजित पुलिस भने १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes