काठमाडौं । विभागीय डर्बीमा एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोमा बिहिबार भएको खेलमा एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।
एन्फा कम्प्लेक्समा आर्मीको जितमा सन्तोष तामाङ नायक बने । आर्मीको जितमा दुवै गोल सन्तोषले गरे । एपीएफका आशिष लामाले एक गोल फर्काए । सन्तोष म्यान अफ दि म्याच चुनिए ।
जितसँगै आर्मीले ११ खेलमा २६ अंक जोडेको छ । र, मछिन्द्र फुटबल क्लबलाई १ अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको २५ अंक रहेको छ । आर्मीसँगको हारसँगै एपीएफलाई भने रेलिगेशनको डर कायम रहेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफको ५ अंक रहेको छ ।
आजै भएको पहिलो खेलमा सातदोबाटोमा भएको खेलमा पुछारको क्लब सरस्वती युथ क्लबलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
एन्फा कम्प्लेक्समा मछिन्द्रको फराकिलो जितमा दिपक राईले दुई गोल गरे । यस्तै देवेन्द्र तामाङ, एडिलाजा सोमिडे, आन्द्रेस निया र विशाल राई ’ए’ ले एक एक गोल गरे । मछिन्द्रका काजिम बुसारीले एक गोल फर्काए ।
खेलमा मछिन्द्रका दिपक म्यान अफ दि म्याच चुनिए । जितसँगै मछिन्द्रले ११ खेलबाट २५ अंक जोड्दै दोस्रो स्थानमा छ । ११ खेलमा ४ अंक जोडेको सरस्वती पुछारमा यथावत रहको छ ।