सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वतीलाई हराउँदै आर्मी शीर्ष स्थानमा, एपीएफमाथि संकटाको सहज जित - Pahilo Online

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वतीलाई हराउँदै आर्मी शीर्ष स्थानमा, एपीएफमाथि संकटाको सहज जित

writer

काठमाडौं । विभागीय क्लब त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

आर्मीको झिनो जितमा जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरे । खेलको ३० औं मिनेटमा दिनेश हेन्जनको पासमा जर्ज प्रिन्सले गोल गरेका थिए । खेलमा आर्मीका विकास खवास म्यान अफ दि म्याच चुनिए । आर्मीको यो लिगमा चौंथो जित हो। जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्मीले ५ खेलमा १२ अंक जोडेको छ ।

साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई एक अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो। दोस्रो स्थानमा रहेको मनाङको ५ खेलमा ११ अंक रहेको छ । सरस्वतीको यो लगातार पाँचौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीले ५ खेलमा अंक जोड्न सकेको छैन ।

बिहिबार नै भएको पहिलो खेलमा संकटा क्लबले दोस्रो जित निकालेको छ । खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले दुई गोल गरे । यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे ।

एपीएफका नबिन लामा र आशिष लामा लामाले एक एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता पनि संकटाले बनाएको थियो । खेलको १९ औं मिनेटमा लक्ष्मणले फ्रिकिकमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४४ औं मिनेटमा कर्णले गोल गर्दा पहिलो हाफमा संकटा २–० ले अघि रह्यो । कर्णको यो संकटाको लागि पहिलो गोल समेत हो ।

दोस्रो हाफमा भने खेल रोमान्चक बन्यो । ५३ औं मिनेटमा मार्टिन्सले गोल गर्दै संकटालाई ३–० को अग्रता दिलाए । तर, ५६ औं मिनेटमा एपीएफका नविनले पेनाल्टीमा गोल गर्दै खेल ३–१ को बनाए । त्यसपछि खेलको ७२ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए ।

तर, खेलको ८८ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ४(२ को जित दिलाए । खेलमा मार्टिन्स नै म्यान अफ दि म्याच चुनिए । जितसँगै संकटा लिगको सातौं स्थानमा उक्लिएको छ । संकटाले ५ खेलमा ७ अंक जोडेको छ । एपीएफको ५ खेलमा ४ अंक रहेको छ । एपीएफ लिगको ११ औं स्थानमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes