सहिद स्मारक ’ए’ डिभिजन लिगमा दुई विभागीय टोलि आर्मी र पुलिस विजयी - Pahilo Online

सहिद स्मारक ’ए’ डिभिजन लिगमा दुई विभागीय टोलि आर्मी र पुलिस विजयी

writer

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आर्मीलाई जित दिलाउन कप्तान भरत खवास र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे । खेलमा भरत म्यान अफ दि म्याच चुनिए । जितसँगै आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । र, आर्मी लिगेको तेस्रो स्थानमा उक्लिएको छ ।

आर्मीले यस अघि पहिलो खेलमा फ्रेन्डस् क्लबलाई २–१ गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा साविक विजेता मनाङसँग १–० ले पराजित भएको थियो । शेर्पाले ३ खेलमा २ अंक जोडेको छ । शेर्पा लिगको दशौँ स्थानमा रहेको छ । शेर्पाले पहिलो खेलमा नेपाल पुलिससँग गोलरहित बराबरी तथा दोस्रो खेलमा एपीएफसँग १–१ गोलको बराबरी खेलेको थियो ।

आजै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । खेलमा सरस्वती युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सिमित पुलिसलाई जित दिलाउन सुमन लामा र भोला सिलवालले एक एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा अन्जन राई दाहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिदा पुलिस १० खेलाडीमा सिमित भएको थियो ।

पहिलो हाफमा सरस्वतीसँग गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ४६ औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई १० को अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा भोलाले गोल गर्दै पुलिसलाई २–० को जित दिलाए । त्यसअघि पहिलो हाफमा राजकुमार घिसिङले डिबक्सको ठिक बाहिरबाट प्रहार गरेको फ्रिकिक क्रस बारमा लाग्दा सरस्वतीले अग्रता बनाउने मौका गुमाएको थियो । खेलमा पुलिसका सुमन लामा म्यान अफ दि म्याच चुनिए । जितसँगै पुलिसले ३ खेलमा ४ अंक जोडेको छ । पुलिस लिगको सातौं स्थानमा रहेको छ । पुलिस पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा थ्रीस्टार क्लबसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

सरस्वतीको यो लगातार तेस्रो हार हो । पहिलो खेलमा सरस्वती एनआरटीसँग ४–० र दोस्रो खेलमा जावलाखेल युथसँग १–० गोल अन्तरले पराजित भएको थियो ।अंक विहीन सरस्वती लिगको पुछारमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes