मनाङ शीर्ष स्थानमा उक्लियो, संकटा क्लब र जावलाखेल युथ क्लबको बराबरी - Pahilo Online

मनाङ शीर्ष स्थानमा उक्लियो, संकटा क्लब र जावलाखेल युथ क्लबको बराबरी

writer

काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बिहिबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई १–० गोल अन्तरले पराजित गर्दै १० खेलाडीमा सिमित मनाङ तेस्रो जितसहित शीर्ष स्थानमा उक्लिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङलाई जित दिलाउन जगजित श्रेष्ठले निर्णायक गोल गरे । जगजितले खेलको २५ औं मिनेटमा निर्णायक गोल गरेका थिए । भीदाल लुइसको क्रसलाई उनले सदुपयोग गरेका थिए । त्यसअघि खेलको २३ औं मिनेटमा मनाङका विमल राना गोल गर्न चुके । उनको चिप बल पोस्टमाथिबाट बाहिरिएको थियो । तुलानात्मक कमजोर टिम ब्रिगेडविरुद्ध मनाङले दोस्रो हाफमा पनि गोलको अवसर खेर फालेका थिए ।

खेलको ५५ औं मिनेटमा मनाङका फेमी जोसुआले दायाँ भागबाट गरेको प्रहार ब्रिगेडका गोलरक्षक विशाल सुनारले सहजै बचाए । ६० औं मिनेटमा मनाङका पुजन उपरकोटीले डिबक्स बाहिरबाट गरेको कडा प्रहार ब्रिगेडका जया गुरुङलाई लाग्दै बाहिरिएको थियो ।

आजै भएको अर्को खेलमा संकटा क्लबले जावलाखेल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा संकटाले जावलाखेलसँग १(१ गोलको बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा संकटाले बराबरी खेलेको हो ।

खेलको ३७ औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । रुचालले बायाँ भागको कर्नर नजिकै पाएको फ्रिकिकलाई उत्कृष्ट ढंगबाट गोलमा परिणत गरेका थिए ।त्यसअघि खेलको ३० मिनेटमा संकटाले अग्रता दोब्बर बनाउने मौका गुमायो । विदेशी खेलाडी जियान मरियाले उपलब्ध गराएको क्रसमा कर्ण लिम्बुले बललाई जाली चुमाउन असफल भए ।

तर, खेलको ७२ औं मिनेटमा ड्याडी जुनियरले गोल गर्दै जावलाखेललाई खेलमा फर्काए । हरि कठायतको फ्रिकिकलाई उनले हेडबाट पोस्टको जाली चुमाएका थिए । खेलमा संकटाका अर्नेष्ट म्यान अफ दि म्याच चुनिए ।

बराबरीसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ । संकटा लिगको सातौं स्थानमा रहेको छ । संकटा पहिलो खेलमा च्यासलसँग पराजित भएको थियो । दोस्रो खेलमा एनआरटीलाई १–० गोल अन्तरले हराएको थियो । जावलाखेलले ३ खेलमा ५ अंक जोडेको छ । जावलाखेल लिगको तेस्रो स्थानमा रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes