सहिद स्मारक ’ए’ डिभिजन लिगको शनिबारको खेलमा संकटा, जावलाखेल युथ क्लब विजयी - Pahilo Online

सहिद स्मारक ’ए’ डिभिजन लिगको शनिबारको खेलमा संकटा, जावलाखेल युथ क्लब विजयी

writer

काठमाडौं । संकटा क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन दिपेश आले मगरले निर्णायक गोल गरे । खेलको नवौं मिनेटमा दिपेशले गोल गरेका थिए । उनले कप्तान अमित तामाङको क्रसलाई सदुपयोग गरेका थिए ।

फरवार्ड कर्ण लिम्बुलाई अनुबन्ध गर्दै मैदान उतारेको संकटाले पहिलो हाफमा उत्कृष्ट खेल पस्किएको थियो । एक गोलसहित केहि उत्कृष्ट अवसर समेत सिर्जना गरेको थियो ।

यस्तै एनआरटीले पनि पाएको अवसरमा गोल गर्न सकेन् । खेलको २५ औं मिनेटमा एनआरटीले दुई अवसर खेर फालेको थियो । राजेश परियार र दर्शक गुरुङ डिबक्स भित्रबाटअनमार्क रहदा समेत गोल गर्न सकेनन् ।

दोस्रो हाफमा एनआरटीले संकटाविरुद्धको आक्रमणलाई तिब्र बनायो । तर, गोल गर्न भने सकेन । ६८ औं मिनेटमा दर्शन गुरुङले डिबक्स बाहिरबाट गरेको कडा प्रहार संकटाका किपर विनय श्रेष्ठले मुश्किलले बचाए । त्यसअघि दर्शन वान भर्सेस वानमा गोल गर्न चुकेका थिए ।

लगत्तै पाएको कर्नरमा एनआरटीका आन्द्रे थेरीको हेड पनि विनयले बचाए । यस्तै ८० औं मिनेटमा जोर्डन एनडिम्बा ओवानाको गोल अफसाइड हुँदा एनआरटी बराबरी फर्काउन असफल भएको थियो ।

संकटाले पनि दोस्रो हाफमा केहि उत्कृष्ट सिर्जना गरेको थियो । खेलको ४७ औं मिनेटमा मेसुके ओलुमौको प्रहार एनआरटीका कप्तान प्रकाश बुढाथोकीले गोललाइनबाट क्लियर गरेका थिए । उक्त रिबाउन्ड बललाई राजेन्द्र रावलले पुनः प्रहार गर्दा पुनः एरिक बिष्टले गोललाइनबाट बल क्लियर गरेका थिए ।

यस जितसँगै संकटाले लगातार दोस्रो सिजन एनआरटीलाई हराउन सफल भएको छ । गत सिजन संकटाले एनआरटीलाई १–० गोल अन्तरले हराएको थियो ।
जितसँगै संकटाले २ खेलमा ३ अंक जोडेको छ । संकटा पहिलो खेलमा च्यासलसँग २(० ले पराजित भएको थियो । एनआरटीको यो पहिलो हार हो । पहिलो खेलमा एनआरटीले सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।

आजै भएको अर्काे खेलमा जावलाखेल युथ क्लबले पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले पहिलो जित निकालेको हो ।

जावलाखेलको जितमा विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले निर्णायक गोल गरे । उनले खेलको १० औं मिनेटमा गोल गरे । पहिलो खेलमा जावलाखेलले थ्री स्टारसँग गोलरहित बराबरी खेलेको थियो । जितसँगै जावलाखेलले २ खेलमा ४ अंक जोडेको छ ।  सरस्वतीको लगातार दोस्रो हार हो । अंक विहीन सरस्वती पहिलो खेलमा एनआरटीसँग ४–० ले पराजित भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes