लन्डन । ६९ औं मिस वल्डप्रतियोगिताको ताज प्रतिस्पर्धी अन्य एकसय १० मुलुकका सुन्दरीलाई पराजित गर्दै जमैकाकी टोनी एन सिंहले जितेकी छिन् । फ्लोरिडा स्टेट युनिभर्सिटीकी ग्रयाजुएट २३ वर्षीया टोनीले विश्व प्रतिष्ठित ताज जितेकी हुन् । जितपछि अश्वेत वर्णकी उनले विश्वभरका महिला तथा बालबालिकाको दीगो परिवर्तनका लागि आफ्नो उपाधि सदुपयोग गर्ने बताइन् । टोनीले मिस टयालेन्ट उपाधि पनि जितेकी छन् ।
लन्डन एक्सेलमा शनिबार अपरान्ह आयोजित प्रतियोगितामा मिस फ्रान्स ओफ्ली मेजिनो फर्स्ट रनर अप र मिस इन्डिया सुमन रतनसिंह रावले सेकेन्ड रनर अपको उपाधि जिते। टप ५ मा छानिएका नाइजेरिया, ब्राजिल, इण्डिया, जमैका र फ्रान्समध्ये मिस जमैकाले मिस वर्ल्डको ताज जितेकी हुन्। टप ५ प्रतियोगीले लोकप्रिय टीभी प्रस्तोता पियर्स मोर्गनको कडा प्रश्न सामना गरेका थिए।
प्रतियोगितामा कन्टिनेन्टल वीनर्समा क्यारिबियनबाट मिस ट्रिनिडाड एण्ड टोबागो, युरोपबाट मिस फ्रान्स, एसियाबाट मिस इण्डिया, अमेरिकाजबाट मिस ब्राजिल र ओसिनियाबाट मिस कुक आइल्यान्ड्सले उपाधि जिते।
मिस नेपाललाई दुई सबटाइटल अवार्ड
मिस नेपाल अनुष्का श्रेष्ठले सबटाइटल अवार्ड जितेकी छन्। टप १२ सम्म पुगेकी अनुष्काले ‘ब्युटी वीथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ सबटाइटल अवार्ड जितेकी हुन्।
अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले तिनै दुई टाइटल जितेकी थिइन्। टप १२ मा केन्या, नाइजेरिया, ब्राजिल, मेक्सिको, इण्डिया, नेपाल, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रसिया र कुक आइल्यान्ड्सका सुन्दरी परेका थिए। मिस नेपाल सोही चरण (सेमिफाइनल) बाटै बाहिरिइन्।
दुई अवार्ड जितेपछि खुसी व्यक्त गर्दै अनुष्काले सबैप्रति आभार व्यक्त गरेकी छन्। ‘विश्वमञ्चमा नेपाली झन्डा फहराउन सफल भएकी छु’, हातमा ठूलो नेपाली झन्डा बोकेकी उनले खुसी साट्दै भनिन्, ‘मिस वर्ल्डमा ‘ब्युटी विथ अ पर्पोज’ उपाधि मुटु नै हो। योसहित दुई उपाधि जितेर घर फर्कन पाउँदा ज्यादै गर्व लागेको छ। यसले आफ्नो प्रोजेक्टमा काम गर्न झन् हौसला मिलेको छ।’
नेपालीहरुले झन्डा बोकेर कार्यक्रममा आइदिँदा आफूलाई थप आत्मबल पुगेको उनले सुनाइन्। छोरीको जितमा अनुष्काका बाबुआमा पनि दंग देखिन्थे। प्रतियोगितामा अनुष्कालाई हौसला प्रदान गर्न बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएन पदाधिकारी लगायत नेपालीहरु नेपालको झन्डा बोकेर कार्यक्रमस्थल पुगेका थिए। उनीहरुले बारम्बार हुटिङ गर्दै नाचे।