भारत र चीनबीचको सम्बन्धमा ‘नयाँ युग’ सुरू - Pahilo Online

भारत र चीनबीचको सम्बन्धमा ‘नयाँ युग’ सुरू

writer

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सम्बन्धमा ‘नयाँ युग’ सुरू भएको शनिबार बताएका छन् । जनसंख्याका हिसाबले विश्वका दुई ठूला मुलुकबीच देखिँदै आएका समस्यालाई कम गर्दै जाने विषयमा प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच चिनियाँ नेताको दुईदिने भारत भ्रमणको दोस्रो दिन चेन्नाईको दक्षिणमा रहेको ऐतिहासिक ताज फिशरम्यान कोव रिसोर्टमा एक्ला–एक्लै भेटवार्ता भएको हो ।

दुई नेताबीच विगत १८ महिनामा भएको यो दोस्रो भेटवार्ता हो । उनीहरूबीच करिब डेढ वर्षपहिले चीनको उहानमा भएको शिखर सम्मेलनका प्रतिबद्धतालाई कार्यान्वयन गर्न इमान्दार प्रयास जारी राख्ने सहमति भएको छ । ‘भेटवार्तामा दुवै पक्षले विवेकसम्मतरूपमा कुनैपनि विषयमा रहेका मतभिन्नतालाई व्यवस्थापन गर्ने सहमति बनेको छ’–भारत सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भारतीय प्रधानमन्त्री मोदीले थपे–‘उहान सम्मेलनले हाम्रो सम्बन्धमा नयाँ स्वरूप र बढ्दो स्थायित्व प्रदान गरेको छ । हाम्रो चेन्नाई दृष्टिले चीन र भारतबीच सहकार्यको नयाँ युगको थालनी गरेको छ ।’ राष्ट्रपति सीले सम्मेलनका प्रतिनिधिमन्डलसँग आफ्नो मन्तव्य राख्दै आफू र भारतीय प्रधानमन्त्री मोदीबीच मित्रका हिसाबले खुला दिलले छलफल गरेको बताए ।

चीन–भारत उच्चस्तरीय आर्थिक व्यापारिक वार्ता प्रणालीको स्थापनाका आधारमा आर्थिक विकासको रणनितिक सम्पर्कलाई अझ प्रवर्द्धन गर्नुपर्ने र उद्योग–व्यवसायको साझेदारी सम्बन्धको स्थापनाबारे छलफल गर्नुपर्ने धारणा राष्ट्रपति सीले राखेका छन् । भारतीय औषधि र सूचना उद्योग–व्यवसायहरूमा चीनलाई लगानी लगाउन प्रधानमन्त्री मोदीले स्वागत व्यक्त गरेको जनाइएको छ । प्रधानमन्त्री मोदीले चीनसँगको वास्तविक सहकार्यलाई अझ बढी गहन पार्न भारत इच्छुक रहेको बताउनुका साथै चिनियाँ उद्योगी–व्यवसायीहरूलाई भारतीय उद्योगमा लगानीका लागि आह्वान गरेका छन् ।

अमेरिकासँग संरक्षणवादी नीति लिएका दुवै मुलुकले आपसी बजारका लागिसमेत व्यापक पहुँच विस्तार गर्ने सहमति भएको बताइएको छ । यसबाहेक चीनले भारतमा आफ्नो ‘फाइभजी’ नेटवर्क विस्तार, आतंकवादविरोधी अभियान, क्षेत्रीय सुरक्षाको प्रत्याभूत गर्नेलगायतका विषयमा पनि छलफल भएको भारतीय सन्चारमाध्यमले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes