कानेपोखरीमा सार्वजनिक सुनुवाई - Pahilo Online

कानेपोखरीमा सार्वजनिक सुनुवाई

writer

पहिलो अनलाइन

सार्वजनिक सुनुवाईमा उठेका प्रश्नको जवाफ दिंदै गाउंपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत । तस्विर : कृष्ण ।

कृष्णचन्द्र सुवेदी
कानेपोखरी । कानेपोखरी गाउँपालिकाको आ.व.२०७५÷०७६ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । मोरङको कानेपोखरी गाउँपालिका कार्यालयको प्राङ्गणमा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

गाउँपालिको आयोजनामा भएको कार्यक्रममा स्थानीय तह र नागरिकहरुका विचमा दोहोरो संवाद स्थापीत गरी जनतालाई गाउँपालिकाको विकासको प्रकृयामा प्रतिनिधित्व गराउन स्थानीयतहबाट सञ्चालित विकास निर्माणका कार्यक्रम, गाउँपालिकामा उपलब्ध सेवा सुविधालाई सार्वजनिक गरी त्यसका विषयमा आम नागरिकलाई स्पष्ट गराउने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा नागरिकहरुले गा.पा. अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाहरुलाई प्रथम चौमासिक भित्र भएका कार्यक्रम तथा विकास निर्माणलगायत विषयमा रहेर प्रश्न गरेका थिए । छलफलमा सहभागि मध्येबाट महेन्द्र बोहोराले ७० प्रतिशत काम जनप्रतिनिधि नहुँदा पनि भएको, बाँकी ३० प्रतिशत जनप्रतिनिधि आउँदा पनि किन हुँदैन ? डिजिटल बडापत्र राख्ने भनिएकोमा कहाँ कहाँ राखियो ? जस्ता प्रश्न अध्यक्षलाई राखेका थिए ।

शिव पन्थीले बजार क्षेत्रमा शौचालय नभएको गुनासो राखेका थिए । यस्तै विवेक लिम्बुले वडा न.६ को पूर्वी भागमा रहेको सिताधापमा बाटो, विद्युत समेत नभएको प्रश्न अध्यक्षलाई राखेका थिए । लिम्बूले सरकारको नारा सुखी नेपाली, समृद्ध नेपाल गा.पा.का जनप्रतिनिधिले मात्र पूरा हुन्छ कि नागरिक चाहिन्छ, जस्ता प्रश्न गरेका थिए ।

छलफलमा सहभागि शान्तिराम पौडेलले घाँसको विउलाई किन बजेट नछुट्याएको ? गोबरको प्रयोगशाला कहाँ छ ? भनि प्रमुखलाई प्रश्न सोधेका थिए । गोपाल भट्टराईले प्रशासकीय अधिकृतलाई गरिवलाई बाँड्ने सिरक अर्को वर्ष मात्र बाँड्ने भनी सांङ्केतिक प्रश्न गरेका थिए ।
प्रश्न कर्ता सबैलाई धन्यवाद दिंदै गाउँपालिका अध्यक्ष काफ्लेले सबैको समाधान गर्ने, केही समाधान भएको र अर्को चौमासिकसम्ममा उदाहरणीय काम हुने प्रतिबद्धता जनाए । उपाध्यक्ष राजमति इङ्नामले योजना अनुगमन गरिएको र न्याय सम्पादनलाई प्रभावकारी बनाईएको बताएकी थिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले यस आ.व.को पहिलो चौमासिकमा सम्पन्न भएका कार्यक्रम, बजेट तथा योजनाहरुका वारेमा सभामा प्रस्तुत गरेका थिए । यस अन्तरर्गत चालु तर्फको वार्षिक बजेट २४ करोड ३९ लाख ६८ हजार २९ रुपैयाँ मध्ये मंसिर महिनासम्मको खर्च रकम ७ करोड ३० लाख ५३ हजार १ सय ८ रुपैयाँ खर्च भएको जानकारी दिएका थिए । जसको २९ दशमलव ९४ प्रतिशत खर्च भएको देखिन्छ । यस्तै पुँजिगत तर्फ कुल बजेट १९ करोड ७३ लाख ७८ हजार ५ सय १२ मध्ये खर्च रकम १ करोड ५६ लाख ३१ ह्जार ८ सय ५९ रुपैंया खर्च भएको देखिन्छ । जसको ७ दशमलव ९२ प्रतिशत खर्च भएको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।
यस आ.व. को प्रथम चौमासिकमा सामाजिक क्षेत्रमा भएका कार्यक्रम, पशु स्वास्थ्य सुरक्षाको लागि खोरेत तथा रेविज नियन्त्रण अभियान, घर दैलो ज्येष्ठ नागरिकलाई सम्मान, न्यानो कपडा वितरण, फुसका छानाहरु बिस्थापन गरी सो को ठाउँमा टिनको छाना स्थापित गर्ने, सडक यातायात गुरुयोजना तथा पाश्र्वचित्र निर्माण कार्य प्रारम्भ गरिएको, लगायत कार्यक्रम भएको प्रमुख प्रशासकीय अधिकृतले बताएका थिए । यस्तै, गाउँपालिकाको चुनौतिमा स्विकृत दरबन्दि अनुसार कर्मचारी आपूर्ति हुन नसक्नु, प्रदेश तथा संघिय सरकारबाट प्राप्त बजेट समयमा नै निकाशा हुन नसकेको कारण योजनाहरु समयमा व्यबस्थापन गर्न कठिनाई हुने, सुकुम्बासी समस्या, अब्यबस्थित बसोबास तथा जमिन माथिको दोहोरो स्वामित्व यहाँको सबैभन्दा प्रमुख समस्याको रुपमा रहेको जनाएका थिए ।

यस्तै गत आ.व.को सार्वजनिक सुनुवाईमा जनताले गरेका प्रश्नहरुको प्रतिवद्धता भएकोमा कति सुनुवाई भए भएनन् भन्ने विषयमा समेत चर्चा भएको थियो । त्यसैगरी, गत वर्षको सम्पूर्ण विकास निर्माण, संचालिन कार्यक्रमका बारेमा समेत प्रश्न तथा सुझाव आएका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि स्थानीय नागरिकहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes