सिमसारमा लगानी गर्दै सामुदायिक वनहरु - Pahilo Online

सिमसारमा लगानी गर्दै सामुदायिक वनहरु

काठ दाउरा मात्र विक्री गर्दै आएका सामुदायिक वनहरु वैकल्पिक आम्दानीको बाटो पहिल्याउँदै

writer

पहिलो अनलाइन

कानेपोखरीस्थित ग्रामिण सुधार सामुदायिक वनले संरक्षण गरिरहेको भलुवा सिमसार । तस्विर ः मोहन भट्टराई

 

मोरङको पथरीशनिश्चरे–१ स्थित शान्ति सामुदायिक वन क्षेत्रभित्र रहेको भुल्के सिमसार क्षेत्रलाई व्यवस्थित गर्ने कार्यलाई तीव्रता दिइएको छ । पथरीशनिश्चरेकै सिरिजंगा स्मृति धार्मिक वन, पशुपति र मनकामना सामुदायिक वनले पनि पोखरी निर्माण गरेको छ । कानेपोखरीको ग्रामिण सुधार सामुदायिक वनले समेत ऐतिहासिक कानेपोखरी, भलुवा र भुल्के सिमसार क्षेत्रलाई प्राथमिकतामा राखी काम गरिरहेको छ ।

यी त भए प्रतिनिधि मुलक रुपमा सिमसार संरक्षणका कार्यहरु । पूर्वीमोरङमा अहिले सिमसार संरक्षण र प्रबद्र्धन गरी पर्यटक भित्र्याउने लहडै चलेको छ । काठ दाउरामात्र विक्री गरीरहेका सामुदायिक वनहरुले वैकल्पिक आम्दानीको बाटो पहिल्याउँदै सिमसारबाट आम्दानी गर्ने लक्ष लिएका हुन् । पथरीशनिश्चरेलाई पर्यटकीय स्थलको रुपमा विका गर्ने उद्देश्यले यस्तो कार्यको थालनी गरेको उनीहरुको भनाई छ ।
सिमसारको विकास गर्दा दीगो आम्दानीको स्रोत जुट्ने भएकोले पोखरी निर्माण कार्यलाई पूर्णता दिने कार्य भइरहेको अध्यक्ष कुलबहादुर गुरुङले जानकारी दिए । पथरीशनिश्चरेको गहनाको रुपमा रहेको यस सिमसार क्षेत्र संरक्षण अभावमा पानीको मुल सुकेर सिमसार नै लोप हुने खतरा बढेको भन्दै यसको संरक्षण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष रहेको अध्यक्ष गुरुङको भनाई छ ।

पथरीशनिश्चरेस्थित सिरिजंगा स्मृती धार्मिक वन क्षेत्र अहिले धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास भइरहेको छ । पानीको श्रोतलाई जोगाउँदै पोखरी निर्माण गरेर वनलाई पर्यटकीय क्षेत्र बनाउने उदेश्य रहको अध्यक्ष गंगाप्रसाद साँवाले बताए । प्राकृतिक रुपमा खाल्डो भएको जमिनको सदुपयोग र संरक्षणका लागि पोखरी निर्माण गरिएको अध्यक्ष साँवाको भनाई छ ।
पथरीशनिश्चरे–१० कै पशुपति सामुदायिक वन उपभोक्ता समूहले बाघे सिमसारको संरक्षण र प्रबद्र्धन गरिरहेको छ । वन समूहले आकर्षक पर्यटनस्थल वन्ने सम्भावना रहेको बाघे सिमसार क्षेत्रको प्रवद्र्धन थालेको हो ।

भूटानी शरणार्थी शिविर र पूर्वपश्चिम मुख्य सडक उत्तरको वन भित्र रहेको सिमसार क्षेत्रको सरसफाई गरी पोखरी निर्माण गर्ने काम थालिएको समूहकी सचिव मैना आचार्य फुयलले जानकारी दिइन् । पोखरी निर्माण गरेपछि सुक्न लागेको सिमसारको संरक्षण मात्र नभई वन्यजन्तु एवम् चराहरु पानी खान त्यहाँ आउने र त्यसले पनि पर्यटकहरुलाई लोभ्याउने उनको तर्क छ ।

यसैगरी, कानेपोखरी गाउँपालिकामा रहेको ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा रहेका पानीका श्रोतहरुलाई संरक्षण गर्दै पर्यटकीय क्षेत्र बनाउने योजना बनाएको छ । वन क्षेत्रमा पर्ने ऐतिहासिक विषेशता बोकेको कानेपोखरी, भलुवा सिमसार र भुल्के सिमसार क्षेत्रलाई प्रबद्र्धन गर्ने लक्ष लिइएको समूहका कोषाध्यक्ष होम खरेल बताए । सिमसारलाई आकर्षक बनाई पर्यटक भित्र्याउने र उपभोक्ताहरुको आयआर्जन बढाउने उद्देश्य रहेको उनको भनाई छ ।

यस्तै पूर्वपश्चिम राजमार्गले छोएको बेतना सिमसार सामुदायिक वनले बेतना पोखरीको संरक्षण गर्दै आगामी दिनमा २० वर्षे गुरुयोजना तयार गरी काम थालिएको अध्यक्ष डम्बर बहादुर बस्नेतले बताए ।
यसरी हरेक सिमसारलाई आयआर्जनसंग जोडेर संरक्षण गर्दै जाने हो भनें जैविक विविधता संरक्षण हुनुका साथै पानी संरक्षण गरेर सिंचाईमा समेत प्रयोग गर्न सके आम्दानी बढ्ने संभावना रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes