धरान । ट्याक्टरको ठक्करबाट नापी कार्यालय धरानका अमिन गुमानसिंह बस्नेतको मृत्यु भएको छ । बुधबार राति धरान उपमहानगरपालिका– ६ स्थित पानवारीमा जग्गा नापजाँच गरी फर्कर्दै गरेका बस्नेतलाई को २ त ५१४० नम्बरको ट्याक्टरले छाता चोकमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानवारीबाट लु ३० प ३१०० नम्बरको मोटरसाइकलमा फर्कर्दै गर्दा अमिन बस्नेतलाई छाताचोकबाट ओरालो झरिरहेको ट्याक्टरले ठक्कर दिएको थियो । मुसलधारे पानी परिरहेको अवस्थामा तीव्र गतिमा दुबै सवारी साधन गन्तव्यतर्फ गइरहेकोले पानीमा चिप्लिएर ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ज्यान गुमाएका बस्नेतको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । दाङ घर भएका अमिन बस्नेतका श्रीमती, एक छोरी र एक छोरा छन् । उनको शव बुझ्नका लागि दाङबाट उनको परिवारलाई बोलाइएको प्रहरीले जनाएको छ ।