वाम एकता र भावी राजनीति - Pahilo Online

वाम एकता र भावी राजनीति

writer

शिवराज पण्डित

मदन भण्डारीको भनाइ थियो– ‘राजनीतिमा स्थायी सत्रु र स्थायी मित्रु हुँदैन, सामाजिक गतिशीलतासँगै अन्तरविरोध र सामाजिक सम्बन्धहरू पनि फेरिँदै जान्छन् ।’ यो भनाइले २०७५ ज्येष्ठ ३ गते मदन भण्डारीको २५औं स्मृति दिवसका दिन एमाले र माओवादी (केन्द्र) बीचको एकताबाट सार्थकता पायो । झण्डै ५ दशकसम्म दुई विपरित विचार र कार्यशैली बोकेका वाम पार्टीहरू एक ठाउँमा विलय हुन पुगे । जब कि यी दुई पार्टीहरू बीच वैचारिक कटाक्ष मात्र थिएन, १० वर्षे जनयुद्धको क्रममा वर्ग दुश्मन किटान गरी माओवादीले एमालेका धेरै कार्यकर्ताको हत्यासमेत गरेको थियो । त्यस्तै एमालेका कतिपय कार्यकर्ताहरूले माओवादी कार्यकर्ताको हत्या र पक्राउ गराउन प्रहरी सुराकीसमेत गरेका थिए ।

शिवराज पण्डित

लामो समयदेखि अलग अलग विचार र कार्यशैली बोकेका दुई वाम पार्टी बीचको एकताको विषयमा विभिन्न कोणबाट टीकाटिप्पणी भएका छन् । दुई पार्टीहरूबीचको एकता आकस्मिक आवश्यकताको उपज हो या दुई पार्टीहरूबीच मौलाउँदै गएको गुट व्यवस्थापन गर्न नसकेर निम्तिएको बाध्यता ? यो विषयमा पनि विश्लेषकहरूको फरक–फरक धारणा रहेको छ । जे जसरी व्याख्या र विश्लेषण गरे पनि नेपाल जस्तो सानो र गरिब देशका लागि धेरै राजनीतिक दलहरू क्रियाशील हुनु उपयुक्त थिएन र होइन पनि । यी दुई ठूला वाम दलहरूबीचको एकताले नेपालको भावी राजनीति वामपन्थी र लोकतान्त्रिक शक्ति गरी दुई ध्रुवमा धु्रवीकृत हुँदैअघि बढ्ने देखिन्छ ।

२०२८ सालको झापा सशस्त्र आन्दोलनबाट राजनीतिक शक्ति आर्जन गरेको नेकपा एमाले र २०५२–२०६२ को सशस्त्र क्रान्तिका माध्यमबाट शक्ति आर्जन गरी स्थापित भएको माओवादी (केन्द्र) बीचको एकता सामान्य परिघटना मात्र नभई विशिष्ट महत्व राख्ने ऐतिहासिक राजनीतिक घटनाक्रम पनि होे । वि.सं. २००६ सालमा स्थापना भई करिब ७ दशक टुटफुट, विभाजनको पीडाबाट अघि बढेका र नेपालको वामपन्थी आन्दोलनमा छुट्टै पहिचान बनाउन सफल यी दुई वाम दलहरूबीचको एकताले तत्कालका लागि माक्र्सवाद र लेनिनवादप्रति आस्था राख्ने बहुसंख्यक कार्यकर्ताहरूलाई मलमपट्टी लगाएकोे छ । यद्यपि प्राविधिक रूपले दुई पार्टी विलय भएर नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन भएपनि लामो समयदेखि यी दुई पार्टीहरूले निर्माण गरेका केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी संरचनाहरू, वैचारिक र कार्यशैलीगत मतभेद र अन्तरविरोधहरू कसरी न्यायोचित रूपमा व्यवस्थापन गर्दछन् ? त्यसले मात्र दुई पार्टीहरूबीचको एकताले व्यावहारतः सार्थकता पाउने छ । त्यसका लागि केही समय पर्खनुपर्ने देखिन्छ ।

एमाले–माओवादी केन्द्र बीचको एकताको विषयमा सार्वजनिक रूपमा सकारात्मक र नकारात्मक दुवै दृष्टिकोणबाट टीकाटिप्पणी भएका छन् । माओवादी जनयुद्धका हस्ती तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई आफ्नो ट्विटमा लेख्छन्– के बाँदरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ? एमाले– माओवादीले सर्वहारा अधिनायकत्व नै छाडी सकेकाले कम्युनिस्ट मोह दर्साउनु बेकार हुने तर्क गर्छन् । त्यस्तै पूर्वमाओवादी केन्द्रका प्रभावशाली युवा नेता तथा नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने सामाजिक सञ्जाल फेसबुक स्टाटसमा आफ्नो भनाइ पोस्ट गर्छन्– हामी लेनिनवादी होइनौं, किन लेनिनवाद लेख्ने, शास्त्रीय रूपमा हामी माक्र्सवादी पनि होइनौं तर नेपाली राजनीतिक बजारमा यो बिक्री हुने सम्भावना अझै बाँकी छ । त्यसकारण माक्र्सवाद लेख्ने कुरा सही हो । त्यस्तै ने.म.कि.पा.का अध्यक्ष नारायणमान विजुक्छे एमाले–माओवादी केन्द्रबीचको एकतालाई सिद्धान्त र वैचारिक आधार विना पद र स्वार्थका लागि गरिएको भागवण्डा मात्र हो, लामो समयसम्म टिक्न सक्दैन भन्ने आरोप लगाउँछन् । तर, राजनीतिक विश्लेषक झलक सुवेदीको भनाइ भने अलि फरक र सकारात्मक छ । सुवेदी दुई पार्टीहरू विलय भएर बनेको नेपाल कम्युनिस्ट पार्टीको भविष्य उज्ज्वल देख्नु हुन्छ । उनी भन्छन्– दुई सहअध्यक्ष द्वय क्रमशः के.पी. शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठित पाटीभित्रको एकता, द्वन्द्व, मतभेद तथा अन्तरद्वन्द्वलाई कसरी व्यवस्थापन गर्छन्, त्यसको आधारमा ने.क.पा.को भविष्य निर्धारण हुने तर्क राख्दछन् ।

प्राविधिक रूपले पार्टी एकीकरण भएको घोषणा गर्न जति सजिलो भयो र थियो, त्योभन्दा १० गुना अफ्ठारो ने.क.पा.लाई जीवन्त राख्नका लागि छ । लामो समयसम्म अलग अलग विचार, कार्यशैली र स्कुलिङबाट आएका कार्यकर्ता तथा नेताहरूलाई केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी संरचनामा कसरी व्यवस्थापन गर्ने ? सबैभन्दा गाह्रो काम यही हो । नेपालको कम्युनिस्ट आन्दोलनको मुख्य दोष र खोट भनेकै नेताहरूको व्यक्तित्व टकराव हो । विगत्मा नेताहरूले विचार र सिद्धान्तका आधारमा पार्टी विभाजन गरेका थिएनन् केवल पद र प्रतिष्ठाको मात्र लडाइँ थियो । समस्या स्थानीय पार्टी कमिटीहरूमा भन्दा फेरि पनि समस्या केन्द्रको नेतृत्व तहमा नै हुने देखिन्छ ।

नेतृत्वको स्वभाव र प्रवृत्ति पार्टी सङ्गठन तथा जीवनमा प्रत्यक्ष पर्छ । कहिले रसायन शेरबहादुरसित मिल्यो भन्ने कहिले ओलीसित मिल्यो भन्ने प्रचण्डको स्वभाव आगामी दिनहरूमा स्थिर रहन्छ भनी विश्वस्त हुने आधारहरू छैनन् । उनकै भनाइलाई आधार मान्ने हो भने उनी कहिल्यै पनि दोस्रो हुन जानेको मान्छे होइन । पार्टी जीवनमा पहिलो, दोस्रो र तेस्रो हुने कुरा व्यक्ति वा नेताको चाहानाले भन्दा पनि वस्तुगत अवस्थाले निर्माण गर्ने कुरा हो । तुलनात्मक रूपमा प्रचण्डको स्वभावभन्दा ओलीको स्वभाव अलि अन्तरमुखी छ । तर, उनलाई प्रतिगामी कदमको अभियान्ता भनेर आलोचना हुने गरेको छ ।

कम्युनिस्टहरूको मुख्य हतियार विचार हो । विचारले राज्यसत्ताको वर्ग चरित्र निर्माण गर्छ । विचारले व्यक्तिको मनोविज्ञान निर्माण गर्छ । माक्र्सवाद, लेनिनवाद र माओवादलाई आदर्श र पथ प्रदर्शक सिद्धान्त मान्दै आएका लाखौं पूर्वमाओवादी कार्यकर्ता र जनताले काठमाडौँमा बसेर घोषणा गरेको पार्टी एकताप्रति के–कस्तो प्रतिक्रिया र धारणा राख्दछन् ? केही समय पर्खनुपर्ने देखिन्छ । यद्यपि एमाले–माओवादी केन्द्रको एकताले कम्युनिस्ट आदर्श र विचारका खातिर पार्टीमा लामबद्ध भएकाहरूका लागि आत्मसम्मानमा चोट पुगेको अनुभूति गरेको मैले पाएको छु । माओवादी आदर्शबाट प्रशिक्षित भएकाहरूका लागि एकता प्रक्रियाले प्राप्तिभन्दा हानि धेरै भएकाको रूपमा लिएका छन् । उनीहरुका अनुसार एकता पहिचानसहितको हुनुपथ्र्यो । माओवादी विचारलाई त्याग गर्नु उसको ठूलो कमजोरी थियो । त्यही विचार र आदर्शले नेताहरूलाई राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित ग¥यो । १० वर्षे जनयुद्धको मूल आदर्शबाट च्यूत हुनु नेताहरूको आत्म समपर्ण र एमालेकरण नै हो । त्यस्तै हँसिया हतौडाको चुनाव चिन्हप्रति जनताको अगाध आस्था, भावना र मनोविज्ञान जोडिएको थियो र छ । सूर्य चिन्हसँगै हंसिया हतौडा समेत राखेको भए जनताको भावना र आस्थाको सम्मान गरेको हुन्थ्यो ।

यद्यपि वाम एकताले नेपालको ७ दशक लामो कम्युनिस्ट आन्दोलन सर्वशक्तिमान भएको छ । २० हजार (५६ प्रतिशत) भन्दा बढी निर्वाचित कार्यकर्ताहरू स्थानीय तहदेखि केन्द्र सरकारसम्म ने.क.पा.मा गोलबद्ध भएका छन् । यसले क्रोनिक अर्थात निको नहुने रोगजस्तो बनेकोे अस्थिर सरकारको अन्त्य भएकोे छ । नेपालको विकास निर्माण र समृद्धिका लागि मार्गप्रशस्त गरेकोे छ । तर, ठूलो पार्टी र जनप्रतिनिधि धेरै भएर मात्र पुग्दैन, त्यसका लागि नेतृत्वले निश्चित दृष्टिकोण निर्माण गर्न आवश्यक छ । त्यसका लागि पहिलो शर्त हो, आपसी मतभेद र अन्तरविरोधलाई हल गर्दै अघि बढ्नु । १० वर्षे जनयुद्ध सत्ता प्राप्तिका लागि नयाँ अभ्यास थियो । त्यस्तै एमाले र माओवादी केन्द्रले पूर्ववत पार्टीहरू विघठन गरी नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरी नयाँ पार्टी मार्फत सत्ता सञ्चालन गर्नु पनि नयाँ अभ्यास हो । २१औं शताब्दीमा विज्ञान, प्रविधिका क्षेत्रमा प्राप्त भएका उपलब्धिलाई उपयोग गर्दै आम उत्पीडित वर्ग र युवा लक्षित कार्यक्रमप्रति उन्मुख हुन सके नेपालका भावी दिनहरू सुखद् र समृद्धितर्फ उन्मुख हुने देखिन्छ । यस्तो कार्यबाट नेपालको भावी राजनीति नेपाल कम्युनिस्ट पार्टीको वरिपरि घुम्न सक्ने देखिन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes