पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले बालबालिका तथा युवा खेलाडीहरूको सुरक्षा लक्षित गर्दै दुर्घटना बीमा कार्यक्रम सञ्चालन गरेको छ ।
वडाभित्रका ३ वर्षदेखि १५ वर्षसम्मका बालबालिका तथा १९ वर्षसम्मका युवा खेलाडीलाई लक्षित गरी सञ्चालन गरिएको बीमा शिविर बैशाख १५, १६ र १७ गते सम्पन्न भएको हो । शिविरमार्फत कुल ६६७ जना बालबालिका तथा खेलाडीको बीमा गरिएको वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिए ।
वडा नम्बर ८ ले नगरपालिकाभित्र सरकारी तवरबाट पहिलोपटक यस प्रकारको कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । कार्यक्रम MetLife American Life Insurance Company सँगको सहकार्यमा गरिएको हो ।
बीमा योजना अनुसार एक वर्षभित्र दुर्घटना भई चोटपटक लागेमा, सर्पले डसेमा वा कुकुर–बिरालो जस्ता जनावरले टोके/नङ्ग्र्याएमा अधिकतम एक लाख रुपैयाँसम्म दाबी गर्न सकिने व्यवस्था रहेको छ ।
वडा अध्यक्ष कार्कीका अनुसार दुर्घटनापछि उपचार अभाव हुने जोखिम कम गर्न र अभिभावकलाई आर्थिक भारबाट राहत दिन उद्देश्यले कार्यक्रम ल्याइएको हो । उनले आगामी दिनमा पनि यस्ता सामाजिक सुरक्षामूलक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

