नेपाली विद्यार्थी गणित र विज्ञानमा झन् कमजोर - Pahilo Online

नेपाली विद्यार्थी गणित र विज्ञानमा झन् कमजोर

writer

पहिलो अनलाइन

काठमाडौं । सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको केन्द्रले सन् २०१७ मा गरेको परीक्षणको नतिजाअनुसार कक्षा ८ का तीन विषयमा विद्यार्थीको उलपब्धि पाँच वर्षअघि गरिएको सोही प्रकारको परीक्षणको तुलनामा स्थिर देखिएको छ । उस्तै साझा प्रश्नका आधारमा अध्ययन गरिएकामध्ये राष्ट्रिय औसत सबै विषयको ५ सय निर्धारण गरी तुलना गरिएको सो नजितामा नेपाली विषयमा सामान्य सुधार देखिए पनि गणित र विज्ञानमा सिकाइस्तरमा ह्रास आएको छ ।

केन्द्रले सन् २०१३ मा गरेको परीक्षणमा नेपाली विषयमा ४ सय ९५ औसत सिकाइ उपलब्धि रहेकामा यो पटक ५ सय ४ देखिएको छ । गणितमा अघिल्लो परीक्षणमा ५ सय ८ रहेकामा हाल घटेर ४ सय ९२ र विज्ञानमा ५ सय २ बाट केही घटेर ४ सय ९९ औसत सिकाइ उपलब्धि देखिएको केन्द्रका प्रमुख डा लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

सरकारले दातृ निकायसमेतको सहयोगमा सञ्चालन गरेको विद्यालय क्षेत्र विकास कार्यक्रमको मुख्य लक्ष्य विद्यालय शिक्षाको गुणस्तर सुधार्ने रहेको सन्दर्भमा केन्द्रको प्रतिवेदनले शिक्षामा गरिएको लगानी अनुसारको प्रतिफल नआएको पुनः पुष्टि गरेको छ । केन्द्रले शैक्षिक सत्र २०६८ देखि नियमितरुपमा यस्तो परीक्षण गर्दै आएको छ । बिहीबार सार्वजनिक प्रतिवेदनमा तह १ देखि ६ सम्म निर्धारण गरिएको छ ।

अध्ययनमा सबैभन्दा कमजोर र सबैभन्दा उत्कृष्ट विद्यार्थीको प्रतिशत कम तर सरदर जान्ने विद्यार्थीको प्रतिशत बढी देखिएको छ । तह ६ आउनेलाई सबैभन्दा उत्कृट मानिएको सो अध्ययनमा नेपाली विषयमा तह १ मा ०.५, तह ४ मा ५६.४ र तह ६ मा ०.२ प्रतिशत विद्यार्थी देखिएका छन् । गणितमा तह ४ मा ३८.८ र विज्ञानमा तह ४ मा ३८.९ प्रतिशत विद्यार्थी छन् ।

नमूना छनोटका आधारमा सातै प्रदेशका २६ जिल्लाका एक हजार ९ सय ५० विद्यालयका ४६ हजार २ सय ६६ विद्यार्थीमा गरिएको परीक्षणमा उक्त तीन विषयमा छात्रभन्दा छात्राको सिकाइस्तर केही माथि देखिएको छ भने सामुदायिक विद्यार्थीको तुलनामा निजी विद्यालयका विद्यार्थीको स्तर माथि देखाइएको छ ।

प्रतिवेदनअनुसार नेपालीमा प्रदेश २, गणितमा प्रदेश ६ र विज्ञानमा प्रदेश १ का विद्यार्थीको उपलब्धि सबैभन्दा कमजोर पाइएको छ । प्रमुख डा. पौडेलले शिक्षकले कक्षा कोठामा पर्याप्त समय नदिँदा पनि उपलब्धि कमजोर देखिएको बताउनु भयो ।

मन्त्रालयका सचिव खगराज बरालले सरकारले सुधारका लागि लगानी गर्दा गर्दै किन सिकाइ उपलब्धिमाथि आउन नसकेको हो भन्ने बारेमा थप अध्ययन गर्न प्रतिवेदनले प्रेरित गरेको बताउनु भयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes