विराटनगर । नयाँ शैक्षिक शत्र सुरु भएसँगै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) मोरङले निजी विद्यालयले मनोमानी रुपमा चर्को शुल्क लिने गरेको भन्दै अनुगमन गरी समान शुल्क लिन माग गरेको छ ।
अखिल क्रान्तिकारी मोरङले बुधबार विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।
निजी विद्यालयको अनुगमन गरी चर्को शुल्क लिनेलाई कारबाही गर्न माग गरेको अखिल क्रान्तिकारी मोरङका संयोजक ताजिम अन्सारीले बताउनुभयो । ‘नयाँ शैक्षिक सत्र सुरु भएपछि भर्ना अभियानमा निजी विद्यालयहरुले मनखुसी विद्यार्थीहरुबाट शुल्क लिने गरेका छन्,’ अन्सारीले भन्नुभयो, ‘आफ्नो अधिकार प्रयोग गरी महानगरपालिकाले शुल्कमा भएको जथाभावी रोक्नुपछ ।’
नेपालको संविधान २०७२ ले माध्यमिक तहसम्मका विद्यालयको व्यवस्थापनको अधिकार महानगरपालिकालाई दिएको छ । तर, महानगरपालिकाले शिक्षा नियमावली बनाउन अझै नसक्दा प्रभाबकारी रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न सकेको छैन ।
शिक्षण संस्थाले मनोमानी शुल्क लिँदा महानगरपालिका चुप लाग्न नमिल्ने क्रान्तिकारीको भनाइ छ । आफूहरुको मागलाई वेवास्ता गरेमा आन्दोलन सुरु गर्ने अन्सारीले चेतावनी दिनुभयो ।
ज्ञापनपत्र बुझेपछि प्रमुख पराजुलीले विद्यार्थीहरुको मागलाई ध्यानमा राखी आफू अगाडि बढ्ने बताउनुभएको थियो ।