बालसन्त आक्रमणमा संलग्न रहेको आशंकामा दुई जना पक्राउ - Pahilo Online

बालसन्त आक्रमणमा संलग्न रहेको आशंकामा दुई जना पक्राउ

आचार्यलाई प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीसहित सुरक्षा अंगका प्रमुखले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए

writer

पहिलो अनलाइन

विराटनगर । बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हान्न संलग्न रहेको आशंकामा प्रहरीले विराटनगरबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन । मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार पक्राउ परेकाहरुलाई हिरासतमा लिएर सोधपुछ भइरहेको छ ।

घटनामा मंगोललाई हेपेको भन्ने विषय लेखिएको पर्चा भेटिएको कारण मंगोल अर्गनाइजेसनको संलग्नता हुनसक्ने भएपनि यकिन नभएको एसपी बिसीले जानकारी दिनुभयो । ‘हामीले मोरङका सबै ठाउँमा सर्च अभियान चलाएका छौं,’ एसपी बिसीले भन्नुभयो, ‘छानविन र अनुसन्धानका सबै प्रक्रिया अपनाएर लागेका छौं ।’

विराटनगर–१४, जतुवास्थित रामजानकी मन्दिरमा बास बसेका आचार्यलाई आइतबार विहान २ बजेतिर शौचालय जाने क्रममा गोली प्रहार भएको थियो । दाहिने कुममा गोली लागेका स्वामीको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । गोली लागेर घाइते भएका स्वामीको अवस्था खतरामुक्त रहेको न्युरो अस्पताल प्रशासनले जनाएको छ ।

लक्ष्मी बैंकटेश मन्दिर चकरघट्टीका पिठाधीश ५० वर्षीय आचार्य हिन्दुवादी सन्त हुन् । आचार्यका सहयोगी तथा उपकथावाचक नवीन अर्यालले राति २ बजेतिर एक्कासि गोली पड्केको आवाज सुनेपछि दौडिएर जाँदा गुरुजीलाई रगताम्यै भई लडेको देखेको बताउनुभयो ।

घटनास्थलमा गोलीका दुई वटा खोका भेटिएको एसपी अरुणकुमार बिसीले जानकारी दिनुभयो । गोली प्रहार भएको घटनास्थलमा आदिवासी मंगोल समुदायलाई स्वामीले हेप्ने गरेको र अतिहिन्दूवादी भएको भन्दै त्यसो नगर्न चेतावनी दिइएको छ ।

श्रीनिवासाचार्यले नेपाललाई पुनः हिन्दूराज्य बनाउनुपर्ने भन्दै अभियान सञ्चालन गर्दै आएका थिए । उनी शिव सेना नेपाल नामक संगठनसँग पनि सम्बन्धित रहेको बताइएको छ ।

सुनसरीको चकरघट्टीमा बसेर धार्मिक अभियान सञ्चालन गर्ने स्वामी आइतबारदेखि सोही मन्दिरमा हुने श्रीमद्भागवत पुराणमा सहभागी हुन शनिबार विराटनगर आएको बताइएको छ । आचार्यलाई गोली हानेपछि भने पुराण स्थगित भएको छ ।

यसैबीच श्रीनिवासाचार्यलाई गोली हानेको विरोधमा हिन्दू संघसंस्थाले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । विराटनगरको समस्त ओमकार परिवारले पत्रकार सम्मेलन गरी आचार्यमाथिको आक्रमण समस्त हिन्दूहरुमाथि भएको भन्दै विरोध गरेको हो ।

विरोध गर्दै उनीहरुले विराटनगर बजार बन्द गराउन आव्हान गरेका थिए । यद्यपि व्यापारीले प्रतिरोध गरेपछि बजार भने खुल्ला नै रहेको छ । दाहिने कुममा गोली लागेका आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालमा उपचारको लागि लगिएका आचार्यलाई प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीसहित सुरक्षा अंगका प्रमुखहरुले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes