विराटनगर । अवैध गर्भ बसेपछि सुनसरीकी बराहा गाउँपालिकाकी एक महिलालाई मार्ने प्रयास गर्ने एक जना पक्राउ परेका छन् ।
सुनसरी बराह नगरपालिका–७ की ३० वर्षीय सोमनी भन्ने सुनिया मुसहरलाई सोही ठाउँका २३ वर्षीय अजय झाले जंगलमा लगेर मार्ने प्रयास गरेको प्रहरीको दाबी छ । झालाई पत्रकार सम्मेलन गरी शुक्रबार विराटनगरमा प्रहरीले सार्वजनिक गरेको छ ।
सुनिया मुसहरलाई मोरङको बेलबारी नगरपालिका १० स्थित भाउन्ने चोक उत्तर जंगलमा बेवारिसे अवस्थामा गत फागुन २६ गते स्थानीयले फेला पारेका थिए । अवैध यौन सम्पर्कपछि गर्भ रहेपछि झाले सुनियालाई मार्ने उद्देश्यले सोही ठाउँका सन्तोष तामाङ्गको सहयोगमा भाउन्नेको जंगलमा पु¥याएको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताउनु भयो ।
सुनियाको ७ महिनाको गर्भ भने खेर गएको छ । बेहोस अवस्थामा भेटिएकी उनलाई प्रहरीले तत्कालै उद्धार गरी विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएको थियो । घटनामा संलग्न झालाई ज्यान मार्ने उद्योग, जबरजस्ती करणी र गर्भपतन अन्तरगत म्याद थप भई थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।