सोलारको भर पर्नुपर्दा समस्या - Pahilo Online

सोलारको भर पर्नुपर्दा समस्या

writer

पहिलो अनलाइन

उदयपुुर । उदयपुुरमा रहेका चार वटै गाउँपालिकामा विद्युत सेवा नपुग्दा कार्यालयको काम सञ्चालनमा समस्या भएको छ । जिल्लाको चार वटै गाउँपालिका कार्यालयसम्म बिजुली पुग्न नसक्दा दैनिक काम सञ्चालनमा समस्या भएको ती कार्यालयले जनाएका छन् ।

बिजुली नहुँदा कम भोल्टेजको सोलार बत्तीका भरमा कार्यालय सञ्चालन गर्नुपरेको लिम्चुङबुङ, उदयपुरगढी, रौतामाई र ताप्ली गाउँपालिका कार्यालयले जनाएका छन् । गाउँपालिका केन्द्रमा बिजुली नहुँदा सोलार जडान गरिएको भएपनि राम्रोसँग काम नगरेको पाइएको छ ।

सोलार बत्तीकै भरमा कार्यालयको प्रिन्टिङ, फोटोकपी, कम्प्युटर, इन्टरनेट, डकुमेन्टेसन जस्ता अत्यावश्यक काममा असहजता भएको लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रमुख मेजर राईले बताउनुभयो ।

राम्ररी घाम नलागेको दिन सोलारले काम नगर्ने र झ्याप्प बत्ती निभ्ने गरेकोले काम गर्न साह्रै गाह्रो भएको प्रमुख राईको भनाइ छ । हिउँदमा दुःख–सुख धानेपनि वर्षा लागेपछि भने सोलारबाट काम गर्न नसकिने अवस्था रहेको उहाँको भनाइ छ । बिजुली नहुँदा कार्यालयको काम गर्न कर्मचारीलाई बिदाका दिन पनि फुर्सद हुँदैन ।

केन्द्रीय प्रसारणको बिजुली लाइन खोटाङको हलेसी गाउँपालिकाबाट लैजाउने तयारी भइरहेको छ । विजुली लाइन तान्ने पहल भएपनि समय लाग्ने लिम्चुङबुङ गाउँपालिकाको प्रशासकीय अधिकृत भक्तबहादुर राईले बताउनुभयो । सोलारले प्रिन्टर नधान्ने भएकाले कागजपत्रको काम हातैले गर्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ ।

उदयपुरगढी गाउँपालिकामा पनि बिजुली नहुँदा सोलार प्यानलबाट कार्यालयको कामकाज गर्ने गरेको छ । सोलार प्यानलबाट गाउँपालिकाको कामकाज गर्दा समस्या हुने गरेको निमित्त प्रशासकीय अधिकृत गुणराज श्रेष्ठले बताउनुभयो । उदयपुरगढी गाउँपालिका धेरै नै उचाईमा भएकोले चिसो हावापानी मौसमले सोलारको चार्ज चाँडै सकिने समस्या छ ।

बिजुली नहुँदा प्रिन्टिङ, स्क्यानिङ गर्न समस्या मात्र नभएर विभिन्न मन्त्रालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा, कृषि, स्वास्थ्य, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायत कार्यालयको महत्वपूर्ण सूचनाहरु पनि समयमै हेर्न नसकिएको ती कार्यालयले जनाएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes