ब्लड बैंक नहुँदा उपचारमा समस्या - Pahilo Online

ब्लड बैंक नहुँदा उपचारमा समस्या

writer

पहिलो अनलाइन

खोटाङ । खोटाङमा ब्लड बैंक नहुँदा शल्यक्रिया गरी उपचार गर्नुपर्ने विरामीको उपचारमा समस्या भएको छ । ब्लड बैंक नहुँदा कुनै विरामीको उपचारमा शल्यक्रिया गर्नुपरेमा आफन्तले तत्काल रक्तदाताको खोजी गर्नुपर्ने बाध्यता रहेको छ ।

अस्पतालले पनि विरामीको उपचार थाल्नु अगाडि रक्तदाता तयार पार्न आफन्तलाई आग्रह गर्ने गरेको छ । विरामीसँग मिल्ने ब्लडग्रुपको रक्तदाता तयार भएपछि मात्र उपचार सुरु गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल खोटाङले जनाएको छ ।

प्रसूतिका लागि श्रीमती लिएर जिल्ला अस्पताल खोटाङ पुगेका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका सञ्जीव तिलुङ राईलाई रक्तदाता तयार पार्न लगाइएको थियो । ब्लड बैंकको व्यवस्था नहुँदा अस्पतालले आकस्मिक चाहिने रगतका लागि राईलाई रक्तदाता खोज्न लगाएको हो ।

आवश्यक परेको बेलामा श्रीमतीलाई आफैले रगत दिने भनेपछि अस्पतालमा बच्चा जन्माउने शल्यक्रियाको प्रक्रिया अघि बढेको राईले बताउनुभयो । प्रसुतीकै लागि अस्पतालमा भर्ना भएकी केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरकी कोपिला राईलाई रगत दिने दाता नभेटिएपछि समस्या भएको थियो । अन्त्यमा नेपाली सेनालाई गुहारेर कोपिलाका लागि रगत दिने मान्छे जुटाएपछि शल्यक्रिया गरिएको थियो ।

जिल्ला अस्पताल खोटाङमा आउने बिरामीलाई रगत चाहिने अवस्थामा आफन्त वा दाताबाट रगत जुटाउने गरिएको छ । ब्लड बैंक अभावमा कतिपय बिरामीलाई उसकै आफन्त वा नेपाली सेना, सशस्त्र प्रहरीका जवान, रेडक्रसमार्फत आवश्यक रगत जुटाउने गरिएको छ । ब्लडबैंक नहुँदा विशेष गरी सुत्केरी हुन आउने महिला समस्या झेल्न बाध्य छन् ।

अस्पतालले चोटपटक लाग्दा अधिक रक्तस्राव भएका घाइतेका लागि पनि रक्तदाता खोज्न लगाउने गरेको छ । १५ शय्याको अस्पतालमा ब्लडबैंक स्थापनाको पहल भएपनि सार्थक हुन सकेको छैन । जसले गर्दा टाढाटाढाबाट आएका बिरामीका लागि रगत जुटाउन कठिनाइ हुने गरेको छ ।

ब्लड बैंकको अभावमा बिरामीका लागि दाताबाटै रगत जुटाउने गरिएको जिल्ला अस्पतालका प्रमुख डा.रामबहादुर केसीले बताउनुभयो । अधिकांश रगत नेपाली सेना, सशस्त्र प्रहरी जवानबाट जुटाउने गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes