पाँच महिनापछि हत्यारा पक्राउ - Pahilo Online

पाँच महिनापछि हत्यारा पक्राउ

writer

पहिलो अनलाइन

दमक । झापाको दमकस्थित हिमालय माविमा कक्षा १२ मा अध्ययनरत राजेश मल्लिकको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गत कार्तिक २५ गते १९ वर्षीय राजेशको शव आफू व्यवस्थापक रहेकै दमक– ६ स्थित त्रिवेणी गेस्ट हाउसमा फेला परेको थियो ।

होटलको १०४ नम्बरको कोठामा रक्ताम्य अवस्थामा मृत फेला परेका उनको हत्यामा संलग्नलाई ५ महिनापछि प्रहरीले पक्राउ गरेको हो । राजेशको हत्यालगत्तै काका भोला भनिने नरेश मल्लिक फरार थिए । त्यसैले उनकै संलग्नताको अनुमान प्रहरीलाई पनि थियो।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक गिरीले शुक्रबार बिहान हत्यामा संलग्न भनिएका नरेशलाई पक्राउ गरेको जानकारी दिनुभयो । हत्याको कारण अझै प्रस्ट खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीसँगको बयानमा नरेशले आफ्नी श्रीमती र राजेशबीचको शंकास्पद सम्बन्धका कारणले आफूलाई आक्रोशित बनाएको बताएका छन् । घटनापछि विराटनगर जोगवनी हुँदै भारत पसेका नरेश भारतको पश्चिम बंगालमा पर्ने मतिगडामा बस्दै आएको प्रहरीले सुराक पाएको थियो । त्यही सुराक फलो गर्ने क्रममा काँकडभिट्टा आएको बेला नरशे पक्राउ परेका हुन् ।

घटनामा प्रदेश १ प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूहबाट प्रहरी निरीक्षक हेमराज ओली र प्रहरी नायव निरीक्षक लेखनाथ दाहालको टोली अनुसन्धानमा खटिएको थियो । दाहाल र गिरीसमेत मेचीनगर– ६ पुगेर शुक्रबार बिहान नरेशलाई पक्राउ गरेका हुन् ।

शुक्रबार हत्यामा संलग्न सार्वजनिक गर्ने थाहा पाएपछि उनी अध्ययनरत विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकलगायत नगरवासीको प्रहरी कार्यालयमा ठूलो भीड रहेको थियो । घटना भएकै दिन क्षेत्रीय प्रहरी कार्यालयको कुकुरसहितको टोलीले पनि अनुसन्धान गरेको थियो ।

पक्राउ परेका नरेशलाई जिल्ला अदालत झापामा उपस्थित गराई कर्तव्य ज्यान मुद्दामा १० दिनका लागि म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes