धरान । पूर्वी नेपाल र भारतका विभिन्न ठाउँमा नक्कली सुन देखाएर सर्वसाधारण ठगी गरी हिँड्ने एक व्यक्ति सुनसरीको धरानबाट पक्राउ परेका छन् ।
काँचो सुनजस्तै देखिने पित्तलको पातो देखाएर ठगी गर्दै हिड्ने ताप्लेजुङका ५० वर्षीय पदमध्वज लिम्बू (सावा)लाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
धरानको मुख्यबजार भानुचौक क्षेत्रबाट सावालाई पक्राउ गरिएकोे धरान प्रहरीले जनाएको छ । उनीबाट ठगिएकाहरुको दिएको उजुरीको आधारमा पक्राउ गरिएको डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो । लिम्बूले नेपाल मात्र नभएर भारतको दार्जिलिङ, सिक्किम लगायतको स्थानमा विगत डेढ वर्षदेखि ठगी गर्दै हिँडेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आउने विरामीका आफन्तलाई लिम्बूले नक्कली सुन देखाएर ठगी गरेको खुलेको छ । ५० वर्षीय लिम्बूले कलकत्ताबाट सबु मगरले पठाएको नक्कली सुनलाई देखाएर ठगी गर्ने गरको खुलेको छ ।
इलाका प्रहरी कार्यालय धरानमा लिम्बू विरुद्ध संखुवासभा मादी नगरपालिका ३ का ६२ वर्षीय दलराम शेर्पा र धनकुटा साँगुरीगढी २ का ६७ वर्षीय नैनकुमार लिम्बूले उजुरी दिएका छन् । उनले संखुवासभाका शेर्पालाई नक्कली सुनको पातो देखाएर १ लाख नगद र १ तोला सुन ठगी गरेका थिए । यस्तै धनकुटाका लिम्बूलाई नगद २ लाख ४१ हजार रुपैयाँ नगद र ४ तोला सुन ठगी गरेको प्रहरीले जनाएको छ ।