
पथरी । झापाको दमक तथा मोरङको पथरिशनिश्चरेमा रहेका भुटानी शरणार्थीहरूले लगातारको रासन कटौतीले जीवन निर्वाहनै कठिन भएको भन्दै स्थानीय सरकारसँग कटौती रोक्न मागेका छन् ।
तेस्रो देश पुनर्वास प्रक्रिया सुरु भएपछि शिविरमा रहेका शरणार्थीहरूको जीवन निर्वाह र बाँच्न पाउने अधिकारमाथि नै उपेक्षा गरिएको शरणार्थीहरूको दुखेको छ ।
हाल शरणार्थीहरूको झापाको दमक र मोरङको पथरीशनिश्चरे नगरपालिकाका प्रमुखहरूलाई उनीहरूले बाँच्न पाउने अधिकारको रक्षा गरिदिन आग्रह गरेका हुन् । शरणार्थीहरूको टोलीले राहत कटौती गरेपछि पछिल्लो समय शिविरमा आएको समस्याबारे स्थानीय सरकारलाई जानकारी गराएको पथरीशनिश्चरेस्थित शिविरका सचिव चम्पासिंह राईले बताउनुभयो ।
लगातारको राहत कटौतीले दुई छाक टार्नसमेत कठिन भएपछि जीवन रक्षाको पहल गरिदिन आग्रह गरिएको शरणार्थीको भनाइ छ । शरणार्थी शिविर बेल्डाँगीका सचिव टीकाराम रसाईलीका अनुसार दमकस्थित बेल्डाँगी शिविरमा हाल रासन लिँदै आएका शरणार्थीहरूको संख्या ५ हजार छ भने पथरीशनिश्चरेमा १५ सयको हारहारीमा छन् ।
सुरुमा लुगाफाटोसहित पौष्टिक आहार र तेल, मसला तथा तरकारीसमेत दिने गरेकोमा अहिले कटौती गरेको शरणार्थीले बताएका छन् । शरणार्थीलाई हाल दातृ निकायले २८ दिनका लागि प्रतिव्यक्ति ९ केजीको दरले चामल मात्र दिने गरेको छ । अपाङ्गता भएका, अशक्तलगायतका लागि थप तीन किलो दिइन्छ ।
शरणार्थीहरूलाई आश्रय दिँदै आएका झापा र मोरङका दुई नगरपालिकाले शरणार्थीहरूको सवालमा आफूहरूले पहल गर्ने बाहेकका अधिकार नभएको बताएका छन् । शरणार्थीहरूको ज्ञापन पत्र बुझेपछि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले मानवीयताको सम्मान गर्दै शरणार्थीहरूले भागेका समस्याबारे दातृनिकायका अधिकारीहरूसँग छलफल चलाइने आश्वासन दिनुभएको थियो ।