जनयुद्ध सहिद परिवार र नेताजी - Pahilo Online

जनयुद्ध सहिद परिवार र नेताजी

writer

दीपक घिमिरे 

राति देखेको सपनाले दिलु अहिलेसम्म झस्किन्छे ।

गोठबाट एक अँजुली दाउरा लिएर भान्सामा छिरी । अलिकति कागजको पोका पारेर अँगेनामा आगो सल्काई अनि कराईमा दूध तताउन बसाली ।
भान्सामा छटपटी भयो । बाहिर पिँढीमा थचक्क बसी, मजेत्रोले निधार पुछी ।
फेरि भित्र अँगेनामा गएर दुइटा दाउरा थपी । बाहिर आएर दलिनमा भएको रेडियो अन गरी ।
बिहानको धार्मिक कार्यक्रम बज्दै थियो ।
कम्मरमा दुवै हात राखेर सुस्केरा हाली, अनि फेरि भान्सामा छिरेर दूध हेरी ।
उम्लने त परैको कुरा तातिएको पनि थिएन ।
नजिकैको अम्खोराबाट करिब आधा लिटर पानी एकै पटकमा खाई अनि भान्साबाट निस्केर केटाकेटी सुतेको कोठामा पुगी ।

मस्तले सुतेका छोराछोरीलाई एक पटक नियाली । खुट्टामा पुग्न आँटेको सिरकको फेरो पकडेर टाउकोसम्म पु¥याइदिई अनि दुवैको गालामा सुस्त म्वाँइ खाई ।
आज उसको मन शान्त छैन ।
भान्सामा गएर हेरी दूध तात्दै थियो– उम्लन अझै केही समय लाग्छ । फेरि बाहिर आएर पिँढीमा बसी ।
दलिनको रेडियोमा समाचारको धुन बज्यो, यता दिलुको दिलमा अशुभ खबरको धुन बज्यो ।
उठेर रेडियोको भोल्युम ठूलो गराई । पूर्व फर्केर सूर्यलाई दुई हात जोडेर केही मागी मनमनै । अनि फेरि थचक्क बसी ।
‘रुकुम र रोल्पाको सिमानामा सेनाले गरेको सर्च अप्रेसनमा करिब एक दर्जन आतङ्ककारी हताहत भएको खबर रुकुमस्थित रेडियो नेपालका संवाददाताले जनाएका छन् ।’
बाँकी रेडियोले के समाचार भन्यो दिलुलाई वास्ता थिएन तर यो खबरले उसको मुटुमा बजायो ।
राति देखेको सपनामा पनि उसले दिलबहादुरलाई सेनाले गोली हानेको देखेकी थिई ।

दीपक घिमिरे 

उसलाई हल्का रिँगाटा लाग्यो, मुख सुक्यो अनि भान्सा छिरी । दूध जम्मै अगेनामा पोखिएको थियो । ऊ झन डराई ।
पुराना दिनको याद गरी, भर्खरै बिहे भएर आएको बेला यसै गरी दूध अँगेनामा पोखिँदा सासुले भनेकी थिइन्, ‘अलक्षिना ! यो अशुभ सङ्केत हो ।’
उसले टाउकोमा हात राखेर फेरि सोची– के साँच्चै सपना र समाचार अनि यो दूध पोखाइमा तालमेल छ त ?
दगुर्दै घरभित्र छिरी अनि भगवान कृष्णको फोटोमा झुक्दै भनी, ‘लौ माराज परमेश्वरी ! हामीलाई अझैं नरुवाऊ ।’
फेरि बिस्तरा भएतिर गई अनि छोराछोरी दुवैलाई हेरी– उनीहरू मस्तले सुतेका थिए ।
ऊ बेचैन थिई । उसको होस राति १२ बजे देखेको सपनाले नै उडाएको थियो, झनअघिको खबरले उसलाई अर्ध–पागलजस्तै बनाएको थियो ।
पोखिएको दूधको कराई अँगेनाबाट निकाल्नै भुली, कराई डढेर कालो हुँदै पुतपुत्ताउन थाल्यो ।
भान्सामा छिरेर कराई निकाली अनि अँगेनाबाट दाउरा झिकेर पानी छम्किँदै आगो निभाई अनि फेरि घरभित्र गएर दराजबाट पुरानो एल्बम निकाली । दिलबहादुरको फोटो सुम्सुम्याउँदै आँसु झारी अनि हिक्का छाडेर रोई ।
उसको रुवाइ पल्लो कोठामा सुतेका केटाकेटीले सुने सायद, छोराले चिच्याउँदै भन्यो, ‘मम्मी !’
हतार–हतार फोटोमा एक पटक चुमेर एल्बम दराजमै थन्क्याई अनि टाउको छोपेको मजेत्रोले आँसु पुछेर छोराछोरी भए ठाउँ पुगी । छोरोले सिरक फाल्दै भन्यो, ‘बाबा आउनु भएन मम्मी ?’
अस्तिदेखि बाबा बाबा भनेर कराको बसन्तेलाई दिलुले आज राति आउँछन् भनेर झुट बोलेकी थिई । राति सपनीमा बाबालाई देखेर होला, कैयौं पटक निद्रामै बसन्तेले बाबा भन्दै दिलुलाई सुम्सुम्याउँथ्यो । दिलुले अहिले पनि झुट बोल्दै भनी, ‘बेलुकासम्म आइपुग्छन् रे तेरा बा ।’
छोराछोरी दुवै उठे । बाहिर लगेर पानीले आँखा भिजाइदिई अनि मुख कुल्ला गराएर पिँढीमा बसाली । बासी रोटी र दही ल्याएर खान दिई । आफू चैँ खाना बनाउने तरखरमा लागी ।
प्रत्येक घण्टाको खबरमा माओवादी र सुरक्षा फौजबीचको लडाई र हताहती हुनेको संख्या बताइरह्यो, खबर सुन्दै दिलु रोइरही तर आँसु लुकाउँदै ।

दिउँसो दुई बजे । केटाकेटी खेल्दा खेल्दै थाकेका थिए, निदाए । पँधेरामा कपडा धुन निस्कनै आँटेकी दिलुलाई तीन जना कमरेडहरूले दुखद खबर सुनाए ।
ऊ आँगनमै ढली ।
ढलेकी दिलुलाई उठाएर पिँढीमा बसालेर कम्रेडहरू गायब भए ।
एक घण्टाको बेहोसीपछि दिलु उठी ।
चिच्याउँदै रुन मन थियो उसलाई । भित्तामा मुड्की बजारेर रुन मन थियो उसलाई । भगवानको फोटो कुल्चेर सोध्न मन थियो, उसलाई कि आखिर किन यस्तो ?
तर ऊ केही गर्न सकिन । बेलुका बाबा आउने आशामा बसेका छोराछोरीको मन रुवाउन ऊ चाहँदैन थिई अनि हिम्मत लिँदै कसम खाई, ‘म कहिले भन्दिनँ तिमीहरू टुहुरा भयौ, समयले आफै भन्नेछ ।’
ऊ उठेर भित्र गई, छोराछोरीको निद्रा हेरी । मस्तले सुतेका उनीहरूका पाउमा हात राख्दै भनी, ‘तिमीहरू टुहुरा हैन, सहिदका सन्तान हौ । म तिमीहरूलाई बा र आमा दुवैको माया दिन्छु ।’
आँखाभरि आँसु पार्दै कसम खाँदै थिई, घर बाहिर कोही आएको सुइँको पाई । हतार गर्दै बाहिर निस्किई– आँगनभर नेपाली सेना थिए ।

ग्रुपकै लिडर जस्तो देखिने एउटाले दिलुलाई जगल्ट्याउँदै भन्यो, ‘साला आतङ्ककारीको स्वास्नी ! खै तेरो पोई ?’
बाहिरको होहल्लाले भित्र केटाकेटी उठे । दिलु आँखाभरी आँसु पार्दै रोई मात्र ।
ती सेनाका हाकिमले नराम्रोसँग कुटे । आमालाई कुटेको देखेर छोराछोरी रोइरहे । आधा घण्टाको कुटाइपछि सेना फर्कियो, रक्ताम्मे शरीरमा दिलु घरभित्र छिरी । छोराछोरी अरु एक घण्टासम्म रोइरहे ।
यो उसको गाउँ को कहानी हो ।
गाउँमै बस्न नसक्ने अवस्था भएपछि उनीहरू विस्थापित भए । सेना गएर आतङ्ककारी भन्दै कुट्ने अनि छोराछोरीले बाबा भन्दै रुने गर्न थालेपछि ऊ स।हर छिरी । सात वर्षको छोरा अनि चार वर्षको छोरी लिएर– भविष्य खोज्दै ।
बिरानो सहरमा अबोध केटाकेटी बोकेर छिरेपछि सुरु भयो उसको अझ कष्टकर जीवन ।
बसपार्कका होटलहरूमा भाँडा माझेर सुकुम्बासी बस्तीमा शिर लुकाउने झुप्रो भेटी । दैनिक भाँडा माझ्ने अनि सन्तान र आफ्नो पेट पाल्ने काम गर्दागर्दै एक दिन थाहा पाई देशमा शान्ति सम्झौता भयो ।

ऊ भाँडा माझ्ने काम सकेर पत्रिका पसल कुदी, कान्तिपुर पत्रिका किनी अनि चार कक्षा पढेको हैसियतमा मुख्य खबर पढी ।
युद्धले थिलथिलो पारेको आफ्नो गाउँघर सम्झेर फेरि एक पटक मस्तले रोई । दिलबहादुरले हतियार उठाउँदा देखाएको सपना सम्झेर खुशीको आँसु झार्दै सोची, ‘अब चैं हामी गरिबका सपना पूरा हुन्छन् । हामी पनि सम्पन्न हुन्छौं, दिलबहादुरले देखेको नयाँ नेपालको सपना अब बल्ल पूरा हुन्छ ।’
शान्ति सम्झौता भएको अर्को दिनदेखि उसले सहरमा धेरै अनुहार देख्न थाली । जसलाई ऊ युद्धको मैदानमै भेट्थी । कहिले दिलबहादुर सँगै भेट्थी त कहिले सेल्टरको रूपमा भात पकाइदिन भन्दै आउने ग्रुपमा ।
तर समय यस्तो आइदियो कि हिजो कम्रेड भन्दै कडा हात मिलाउने ती दिलबहादुरका सहयोद्धाहरू पनि आज दिलुलाई चिन्दैनन् । उसले गरेको नमस्कार ग्रहण गर्न पनि हिच्किचाउँदै पन्छिन्छन् ।
यो सब देखेर ऊ आत्तिएकी छैन किनकि मान्छे परिवर्तन भए पनि जनयुद्धको उपलब्धि परिवर्तित छैन भन्ने कुरामा उ ढुक्क छे । ऊ अझै भाँडा माझ्दै खुशी हुन्छे र गुनगुनाउँछे, ‘मान्छे मान्छे एउटै हो, फरक किन भो !’

शान्ति सम्झौता भएपछि दिलबहादुरका सपना सुस्त सुस्त पूरा हुँदै गरेको उसले दैनिक खबरहरूमा सुन्दैछे । वर्षौं पुरानो सामन्ती सत्ता फालेर सर्वहाराको सत्तामा पहुँच भन्ने नारा साकार पार्दै राजा फालिएको खबरमा ऊ मस्तले नाची । एक्लै नाचेको देखेर उसका छोराछोरी अचम्म परेर ताली पड्काए ।
०००
समय बित्दै गयो, माओवादी सरकारमा गयो । सँगै युद्ध लडेका कमान्डर मन्त्री भएको खबर सुनी । ठुला र बुझ्ने भएका छोराछोरीलाई देशकै मन्त्रीसँग आफ्नो राम्रो चिनजान भएको गफ सुनाई ।
काम गर्ने होटलमा छुट्टी मिलाएर एकदिन मन्त्री भेट्न जाने योजना सुनाई । छोराछोरी पनि खुशी भए ।
अब जंगल पसेर बेपत्ता भएका बाबा आउने आशा अझै उनको मनमा छ । युद्धमा सहिद भएको खबर अझै छैन उनीहरूलाई ।
जीवन फेरिने आशामा दिलु खुशीले गदगद थिई । दैनिक भाँडा नमाझ्दै साँझ बिहान गाँसको समस्या पर्ने थाहा हुँदाहुँदै पनि एक दिन होटल साहुजीसँग झगडा गरी ।
चोर औंला देखाउँदै उसले साहुजीलाई भनी, ‘हाम्रा मान्छे देशका मन्त्री छन्, गरिबको कोही छैन भनेर नहेप साहू ! हाम्रा नि दिन आइपुगे । तिमीजस्ता शोषक र सामन्तीलाई तह लगाउने दिन आए ।’
कम्मरमा धोतीको सप्को बाँधेर आधा काम नसक्दै उठेर हिसाब मागी अनि काम छाडेर झुप्रोमा आई ।
स्कुलबाट केटाकेटी आएका थिएनन् । चोकमा निस्केर पत्रिका पसल छिरी अनि साहुजीलाई भनी, ‘माओवादी मन्त्रीहरूलाई कहाँ भेट्न सकिन्छ साउजी ?’
साउजीले सिंहदरबार सिकाइदिए । उसले धन्नेबात भन्दै फर्केर कोठामा आई । खाना पकाई, केटाकेटी आएपछि सबैले खाए । सबै सुते तर उ निदाइन । भोलि मन्त्री भेट्ने आसमा ऊ रातभर निदाइन ।
बिहानै उठेर सबै काम भ्याई, अरु दिनभन्दा छिट्टै छोराछोरीलाई स्कुल छाडी । उसको जाँगरिलो व्यवहार र हसिलो चेहरा देखेर छिमेकी गुरूप्रसादले सोधे, ‘के हो दिलु ? आज त निक्कै तडकभडक छ नि ?’
उसले हाँस्दै भनी, ‘आज मन्त्री भेट्न सिंहदरबार जाने हो, बसन्त्या बाका एकदम मिल्ने साथी मन्त्री भा’छन् ।’

उसका कुराले गुरूप्रसाद ओठ लेप्राउँदै हाँसे । ऊ धोती माथि तान्दै चोकमा निस्केर सिंहदरबार जाने माइक्रो चढी ।
माइक्रो खलासीले सिंहदरबार झर्ने कोही हुनुहुन्छ भनेपछि ऊ चिच्याउँदै भनी, ‘म छु, रोक्दिनुस् ।’
आफ्नै अगाडिको बडेमानको दरबार देखेर ऊ एकछिन छक्क परी । हिजो आफ्नै झुपडीमा रुखोसुखो खाएर बाँचेका कमान्डरहरू आज यस्ता महलमा बस्ने भए भनेर जिब्रो टोकी । दिलबहादुरलाई सम्झेर एकछिन निरास भई । कल्पना गर्दै भनी, ‘बाँचेका भए उनी पनि यतिबेला यतै हुन्थे बरै ।’
हल्का धोतीको फेरो मिलाउँदै ऊ हतार–हतार सिंहदरबार गेटनिर पुगी । एउटा पुलिसले रोक्न खोज्दै सोध्यो, ‘कहाँ जान लाको ? खै पास ?’
उसले टक्क अडिएर भनी, ‘कम्रेड हरिप्रसादलाई भेट्न जान लाको, पास सास चाइन्न, हाम्रो नाम्रो चिन्जान छ ।’
पुलिसले सानो लट्ठीको सहाराले दिलुलाई धकेल्दै भने, ‘मन्त्रीलाई त जसले नि चिन्छ, मन्त्रीले चिन्नु पर्यो नि बैनी ! नागरिकता लिएर ऊ त्यता गएर पास बनाउनु अनि आउनुस् ।’ पुलिसले पास बनाउने स्थान देखाइदिए ।

दिलु निरास भई ।

हिजो सँगै लडेका कमान्डर भेट्न नागरिकतासहितको पास चाहिने सुनेर अचम्म भई । सहिद दिलबहादुरको परिवार आको छ भनेर खबर पुर्याइदिन आग्रह गरी तर अहँ ! कसैले उसको आग्रह सुनेन । यो दिन ऊ फर्किई ।
शाही सत्ताको कुनै पनि प्रमाण–पत्रहरू माओवादी जनसरकारले नमान्ने ऊ बेलाको कानुनले गर्दा उसले कहिले नागरिकता बनाइन् ।
युद्ध पछाडि शान्ति आउला, शान्ति सँगसँगै देशमा जनवादी सत्ता स्थापना होला र नयाँ नियम कानुन बन्लान् भनेर उसले नागरिकता, पढाइ, धनसम्पत्तितिर ध्यान दिइन । न उसले दिई न उसको दिलबहादुरले । तर आज चाहियो नागरिकता ।
बाटैमा भेट्ने या घरमै भेट्ने इच्छाबमोजिम दैनिक सिंहदरबार धाउन थाली तर समस्या उहीँ थियो । मन्त्री क्वार्टरसम्म पुगी तर त्यहाँ झन ठूलो सुरक्षाफौजको जमात थियो जस्ले उसलाई गेटसम्म पनि पुग्न दिएन ।
होटलमा भाँडा माझ्ने काम छाडेको एक महिना हुँदै थियो । कमाउँदा बचाएर राखेको सानो रकम पनि कहिले सिंहदरबार त कहिले मन्त्री निवास गर्दै सकियो । अब त साँझ बिहान हातमुख जोड्न पनि समस्या हुँदै थियो । अनेक गर्दा पनि जीवनस्तर नउकासिने अवस्था आएपछि ऊ फेरि उहीँ होटलमा पुगी– जहाँ उसले मन्त्रीको धाक लगाउँदै जागिर छाडेकी थिई ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes