हरियालीको इतिहास समेटिएको ‘हरियालीका पाइला’ विमोचन - Pahilo Online

हरियालीको इतिहास समेटिएको ‘हरियालीका पाइला’ विमोचन

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका–२ मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूहको २१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न साधारणसभामा वन संरक्षणसँगै पर्यापर्यटन, संस्थागत विकास, सुशासन र समुदायको आर्थिक तथा सामाजिक हितमा गरिएका गतिविधिको समीक्षा गरिएको छ ।

साधारणसभाको अवसरमा हरियाली सामुदायिक वन उपभोक्ता समूहले प्रकाशन गरेको ‘हरियालीका पाइला’ ऐतिहासिक दस्तावेज (२०५६–२०८३) विमोचन गरिएको छ । वन स्थापनादेखि हालसम्मको संरक्षण, व्यवस्थापन, संस्थागत विकास र विभिन्न गतिविधिलाई समेटेर तयार पारिएको  छ ।

कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनालाई समेत औपचारिक रूपमा सम्मान गरिएको थियो । सम्मानपत्रमा मन्त्री तिम्सिनाले नेतृत्व, समाजसेवा तथा वन क्षेत्रसँगको सम्बन्धमार्फत पथरी शनिश्चरेका सामुदायिक वनको संरक्षण, समृद्धि र समग्र विकासमा पुर्‍याएको योगदानको कदर गरिएको उल्लेख थियो ।

मन्त्री तिम्सिनाले हरियाली सामुदायिक वनले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरिन् । उनले सामुदायिक वनलाई आवश्यक पर्ने विषयमा आफ्नो क्षेत्राधिकारभित्र रहेर सहयोग गर्ने प्रतिबद्धता जनाइन् । ‘हरियालीका पाइला’ प्रकाशनलाई महत्वपूर्ण कामका रूपमा उल्लेख गर्दै उनले वनका गतिविधि, इतिहास र उपलब्धिलाई लिखित दस्तावेजका रूपमा सुरक्षित गर्नु सकारात्मक प्रयास भएको बताइन् । उनले पुस्तक प्रकाशनका लागि मेहनत गर्ने वन समूह र सम्बन्धित समितिलाई धन्यवादसमेत दिइन् ।

मन्त्री तिम्सिनाले आफ्नो जन्मस्थल पथरी शनिश्चरेसँगको सम्बन्ध राजनीतिक जिम्मेवारीभन्दा दीर्घकालीन रहेको बताइन् । पथरी शनिश्चरे–९ मा जन्मिएकी आफूले यही क्षेत्रमा बाल्यकाल बिताएको स्मरण गर्दै उनले आफू जहाँ पुगे पनि आफ्नो जन्मभूमिसँगको सम्बन्ध कायम रहने बताइन् ।

उनले आफू सानै उमेरमा राजनीतिक गतिविधिमा संलग्न हुन पुगेको र प्राध्यापक बन्ने आफ्नो चाहना परिस्थितिका कारण पूरा हुन नसकेको स्मरणसमेत गरिन् । कक्षा ११ मा भर्ना भएर अध्ययन अघि बढाउने क्रममा आफू गिरफ्तार परेको र त्यसपछि जीवनले फरक मोड लिएको उनले बताइन् ।

भूमिगत राजनीतिक जीवनका क्रममा पथरी शनिश्चरे र कानेपोखरी क्षेत्रमै रहेर काम गरेको स्मरण गर्दै मन्त्री तिम्सिनाले त्यसबेलाको कठिन समय पनि सम्झिइन् । उनले भूमिगत जीवनमा सिमलतरुल खाएर र फाटेका सिरक ओढेर रात बिताएका दिनहरू अझै सम्झनामा रहेको बताउँदै त्यसबेलाको संघर्षले वर्तमान राजनीतिक यात्रासम्म ल्याएको उल्लेख गरिन् ।

मन्त्री तिम्सिनाले अहिले आफू सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा रहेकाले चाहेर पनि सबै विषयमा प्रत्यक्ष हस्तक्षेप गर्न नसक्ने स्पष्ट पारिन् । बजेट निर्माण तथा कार्यान्वयनको निश्चित प्रक्रिया र मन्त्रालयको कार्यक्षेत्र रहेकाले त्यसभित्र रहेर सम्भव सहयोग गर्ने उनको भनाइ थियो । आवश्यक पर्दा आफू वा आफ्नो सचिवालयमार्फत सम्पर्क गर्न उनले स्थानीयवासी तथा सामुदायिक वनका पदाधिकारीलाई आग्रह गरिन् ।

हरियाली सामुदायिक वनसँग विगतमा पनि सहयोगको प्रयास गरेको स्मरण गर्दै उनले आगामी दिनमा समेत सहकार्य जारी राख्ने बताइन् । वनअन्तर्गतका विभिन्न समिति र पदाधिकारीसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको उनको भनाइ थियो ।

साधारणसभामा समूहका अध्यक्ष काबुलबहादुर मगर ‘विकास’, सचिव निर्मला चौहान र कोषाध्यक्ष कमला लिम्बुले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा संयोजक रमेश दाहालले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव चौहानले वार्षिक प्रगति विवरणसँगै आगामी वर्षका लागि प्रस्तावित योजना प्रस्तुत गरिन् ।

कार्यक्रममा समूहका उपाध्यक्ष दिलबहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वैज्ञानिक वन महासंघ कोशी प्रदेशका अध्यक्ष दिलाराम राईलगायतले शुभकामना मन्तव्य दिएका थिए । साधारणसभाका क्रममा ज्येष्ठ उपभोक्ता सदस्यलाई सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा पथरी शनिश्चरे–२ का वडाध्यक्ष नैना राई, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत र वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बूलगायतको उपस्थिति थियो ।

 

हरियाली सामुदायिक वनको इतिहास भने अहिलेको गतिविधिभन्दा निकै पुरानो छ । २०५६ सालमा स्थापना भएको यो सामुदायिक वनले २४५ दशमलव ९४ हेक्टर क्षेत्रफलमा संरक्षण र व्यवस्थापनको काम अघि बढाएको हो । केही वर्षमै वन संरक्षण, व्यवस्थापन, पारदर्शिता, गरिबी न्यूनीकरण तथा उपभोक्ताको सहभागिताका क्षेत्रमा उल्लेख्य काम गरेपछि यसले राष्ट्रियस्तरमा समेत पहिचान बनाएको थियो ।

२०७६ सालमा हरियाली सामुदायिक वनले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार प्राप्त गरेको थियो । त्यतिबेला देशभरका करिब २२ हजार सामुदायिक वनमध्ये हरियालीलाई उत्कृष्ट ठहर गरिएको समाचारहरूमा उल्लेख छ । त्यसअघि पनि यसले जिल्ला तथा राष्ट्रियस्तरका विभिन्न पुरस्कार प्राप्त गरिसकेको थियो ।

हरियालीको गतिविधि पछिल्लो समय परम्परागत वन संरक्षणमा मात्र सीमित छैन । वन क्षेत्रमा पर्यापर्यटनको सम्भावना विकास गर्ने उद्देश्यले व्यवस्थित पौडीपोखरी निर्माण गरी सञ्चालनमा ल्याइएको छ । बालबालिका र वयस्कका लागि छुट्टाछुट्टै पोखरी निर्माण गरिएको वनका अध्यक्ष काबुलबहादुर मगरले बताए ।

पौडीपोखरी सञ्चालनसँगै वन क्षेत्रलाई स्थानीयको घुमफिर, मनोरञ्जन र आयआर्जनसँग जोड्ने प्रयास अघि बढेको छ । सामुदायिक वनको नियमित आम्दानी घट्दै गएको अवस्थामा वैकल्पिक आम्दानीका स्रोत विकास गर्ने उद्देश्यले यस्ता गतिविधि अघि बढाइएको वन पक्षले बताउँदै आएको छ ।

पर्यापर्यटनसँगै वन परिसरमा स्थानीय व्यवसायलाई समेत जोड्न थालिएको छ । पछिल्लो समय नेपाल आकृतिको पोखरीनजिकै ‘तिम्मा सायाचुङ खाजा घर’ सञ्चालनमा आएको छ ।

वनको आर्थिक गतिविधिलाई संस्थागत बनाउने उद्देश्यले हरियाली सामुदायिक वन लिमिटेडसमेत सञ्चालनमा ल्याइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles