कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा प्रथम जिल्ला स्तरीय वडा अध्यक्ष कप तेक्वान्दो प्रतियोगिता हुने भएको छ । मोरङ सि.एच.आईटिएफ तेक्वान्दो संघको आयोजनामा आगामी कात्तिक १३ र १४ गते प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगिताका बारेमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । प्रतियोगितामा कोशी प्रदेशका तीन जिल्लाबाट खेलाडीको सहभागिता रहने कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलले जानकारी दिए ।
मोरङ सि.एच.आईटिएफ तेक्वान्दो संघको आयोजना, कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघको प्राविधिक सहयोग तथा कानेपोखरी गाउँपालिका–६ को आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । दुई दिन सञ्चालन हुने प्रतियोगितामा स्प्यारिङतर्फ पुरुष ११० र महिला १०५ गरी २१५ जना खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १५ जना अफिसियल र पाँच जना निर्णायकको सहभागिता रहनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई प्रमाणपत्र, मेडल तथा नगद पुरस्कार प्रदान गरिने मोरङ सि.एच.आईटिएफ तेक्वान्दो संघका अध्यक्ष विद्यानन्द चौधरीले बताए । त्यस्तै, उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय र तृतीय हुने डोजाङलाई नगदसहित ट्रफी प्रदान गरिने उनले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष भुजेलले बताए । प्रतियोगिताले कोशी प्रदेशमा तेक्वान्दो खेलको विकाससँगै नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
कोशी प्रदेशका विभिन्न पालिकामा रहेका डोजाङमा आबद्ध खेलाडीले यसअघि काठमाडौंमा भएको राष्ट्रिय प्रतियोगिता, नवलपरासी र बागलुङमा आयोजित प्रतियोगितामा सहभागिता जनाउँदै प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्दै आएका छन् ।
कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघका अनुसार प्रदेशभर अहिले वान डानदेखि थ्री डानसम्मका २५ जना खेलाडी उत्पादन भइसकेका छन् । उनीहरू विभिन्न पालिकामा डोजाङ सञ्चालन तथा प्रशिक्षणमा समेत संलग्न हुँदै आएका छन् ।
संघले यसअघि पालिका स्तरीय, जिल्ला स्तरीय, प्रदेश स्तरीय प्रतियोगिताका साथै १०औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगितासमेत सम्पन्न गरिसकेको जनाएको छ ।
पत्रकार सम्मेलन मोरङ सि.एच.आईटिएफ तेक्वान्दो संघका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पत्रकारहरूले सोधेका प्रश्नको जवाफ कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलले दिएका थिए भने संघका जिल्ला अध्यक्ष चौधरीले प्रेस विज्ञप्ति वाचन गरेका थिए ।
कार्यक्रमको सञ्चालन संघकी जिल्ला सचिव पूर्णीमा अधिकारीले गरेकी थिइन् । कार्यक्रममा संघका प्रदेश उपाध्यक्ष अशोक फुयल, सचिव दिनेश सुब्बा, सदस्य मोहन भट्टराईलगायतको उपस्थिति थियो ।
पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय उपाध्यक्ष अर्जुन जम्नेली राई, नेपाल पत्रकार महासंघ मोरङका सहसचिव रेवती निरौला, जिल्ला सदस्य ईश्वर दुलाल, पथरीशनिश्चरे नगरपालिकाका सूचना सम्पादक सन्तोष राई, किरात राई पत्रकार संघ मोरङका अध्यक्ष विजय खम्बु तथा नेपाल प्रेस युनियन मोरङका उपाध्यक्ष प्रशान्त निरौलालगायत पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।


