मोरङ । बागलुङको निसीखोलामा सम्पन्न पाँचौं राष्ट्रिय सिएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा मोरङले ४ स्वर्ण, ६ रजत र ५ कास्यसहित कुल १५ पदक जित्दै चौथो स्थान हासिल गरेको छ।
बागलुङ सिएच आईटीएफ तेक्वान्दो संघको आयोजनामा निसीखोला गाउँपालिका–२ जुग्जाखोलामा आयोजित प्रतियोगितामा स्पाईरिङ तथा प्याट्न तर्फको खेलमा मोरङले ४ स्वर्ण, ६ रजत र ५ कास्य पदक सहित चौंथो स्थान जित हासिल गरेका थिए । यहि जेठ १६ र १७ गतेसम्म सञ्चालित प्रतियोगितामा विभिन्न जिल्लाका २ सय भन्दा बढी खेलाडीहरूको सहभागितामा कलर बेल्ट र ब्लाक बेल्ट विद्या अन्तर्गत स्पाईरिङ तथा प्याट्न प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा स्पाईरिङ तर्फ आशिष भुजेल, रोयल राई, विन्तिका लिम्बु र पुर्णिमा अधिकारीले स्वर्ण पदक प्राप्त गरेका छन् । त्यस्तै विशिका धिमाल र सन्तोष राईले रजत पदक प्राप्त गरेका छन् भने लक्ष्मी लिम्बु र दिप्सन श्रेष्ठले कास्य पदक प्राप्त गरेका छन् । प्याटन तर्फ कलर बेल्टमा लक्ष्मी लिम्बु र सन्तोष राई रजत पदक प्राप्त गरेका छन् भने दिप्सन श्रेष्ठले कास्य पदक प्राप्त गरेका छन् ।
त्यस्तै ब्लाकबेल्टतर्फ विशिका धिमाल र पुर्णिमा अधिकारीले रजत पदक प्राप्त गरेकी छिन् भने रोयल राई र बिन्तिका लिम्बुले कास्य पदक प्राप्त गरेका छन् । पुरुष र महिला दुवैतर्फको ४६–५० केजी तौल समूहमा आयोजित प्रोफेसनल स्पाईरिङ खेलमा पुरुष तर्फ बागलुङका रेडस्टार पुन मगर प्रथम हुँदै २० हजार प्राप्त गरे । यस्तै नवलपुरका रोहन यादव द्वितीय हुँदै १२ हजार र बागलुङका सुर्जन वि.क. तृतीय हुदै ६ हजार नगद पुरस्कार जितेका थिए । त्यस्तै महिला तर्फ रुपन्देहीकी अस्मिता छिनालले प्रथम हुदै नगद २० हजार, बागलुङकी आरोही घर्ती मगर द्वितीय बन्दै १२ हजार र बागलुङकै समिका घर्ती मगर तृतीय हुदै नगद ६ हजार प्राप्त गरे ।
प्रतियोगितामा १५ स्वर्ण पदक जित्दै बागलुङ च्याम्पियन बनेको थियो । त्यस्तै प्रतियोगितामा ८ स्वर्णसहित रुपन्देही फस्ट रनरअप र ६ स्वर्ण सुरक्षित गर्दै नवलपुर सेकेन्ड रनरअप बनेको थियो । बागलुङ सिएच आईटीएफ तेक्वान्दो संघका अध्यक्ष जीवन रसाईलीको अध्यक्षतामा सम्पन्न भएको थियो । समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती मगर, उपाध्यक्ष प्रेम बहादुर घर्ती मगर, विशिष्ट अतिथि नेपाल चानहुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष कुल बहादुर बुढा मगर, विशिष्ट अतिथि कोशी सिएच आईटिएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलले शुभकामना मन्तव्य दिएका थिए ।
त्यस्तै नेपाल चानहुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय उपाध्यक्ष आस्मा श्रेष्ठ, कोशी सिएच आईटिएफ तेक्वान्दो संघका सचिव दिनेश सुब्बा, भक्तपुर सिएच आईटिएफ तेक्वान्दो संघका अध्यक्ष विकेश श्रेष्ठ, मोरङ सिएच आईटिएफ तेक्वान्दो संघका सदस्य सजना श्रेष्ठ लगाएत विभिन्न जिल्लाका जिल्ला अध्यक्षहरु अतिथि रहेका थिए । रुना रसाईलीको स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन अनुप बुढा मगरले गरेका थिए ।


