कृषक प्रोत्साहन र विपन्न सहयोग: वडा ८ बन्यो उदाहरण - Pahilo Online

कृषक प्रोत्साहन र विपन्न सहयोग: वडा ८ बन्यो उदाहरण

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ पछिल्लो समय कृषि विकाससँगै मानवीय संवेदनामा आधारित जनसेवामूलक कार्यक्रमका कारण उदाहरणीय बन्दै गएको छ। नगदेबालीका रूपमा सुपारी खेती प्रवर्द्धनदेखि विपन्न परिवारलाई प्रत्यक्ष राहतसम्मका कार्यक्रमले वडाको कामलाई फराकिलो बनाएको छ।

वडाले हालै कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित ५० प्रतिशत अनुदानमा सुपारीका बिरुवा वितरण गर्ने योजना अघि सारेको छ। वडा अध्यक्ष नवीन कार्की का अनुसार कम्तीमा एक कठ्ठाभन्दा बढी जमिनमा सुपारी खेती गर्नुपर्ने सर्तसहित कार्यक्रम ल्याइएको हो। अन्य बालीको तुलनामा सुपारीबाट राम्रो आम्दानी हुने र दीर्घकालीन बजार सम्भावना रहेको भन्दै वडाले यसलाई प्राथमिकतामा राखेको हो।

वडा ८ को सक्रियता कृषि क्षेत्रमा मात्र सीमित छैन। “वडा अध्यक्ष मेरो साथी” कार्यक्रममार्फत विपन्न परिवारसँग प्रत्यक्ष जोडिने अभियान पनि सशक्त रूपमा अघि बढाइएको छ। “जसको केही छैन, जसको कोही छैन, उसको जनप्रतिनिधि छौं” भन्ने नारालाई व्यवहारमा उतार्दै वडाले सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको छ।

यसैक्रममा बिश्वकर्मा टोल निवासी टेकबहादुर लिम्बूको घरमा सुत्ने खाटसमेत नभएको अवस्था देखिएपछि वडाले काठको खाट हस्तान्तरण गरेको छ। अध्यक्ष कार्कीका अनुसार सामान्य देखिने यस्तो सहयोग खाटविहीन परिवारका लागि अत्यन्तै महत्वपूर्ण हुने बताइन्छ। हालसम्म वडाभित्र १३ घरपरिवारलाई खाट वितरण गरिसकिएको छ भने अझै आवश्यक पर्ने परिवारलाई सम्पर्कमा आउन आग्रह गरिएको छ।

“वडा अध्यक्ष मेरो साथी” कार्यक्रमअन्तर्गत खाट वितरण मात्र होइन, स्वास्थ्य र शिक्षासँग जोडिएका विभिन्न सहयोगसमेत प्रदान गरिँदै आएको छ। खोप केन्द्रसम्म पुग्न नसक्ने आमा–शिशुका लागि सिटिसफारीमार्फत निःशुल्क यातायात व्यवस्था, विपन्न विद्यार्थीलाई पठनपाठन सामग्री वितरण, अक्सिजन आवश्यक पर्ने बिरामीलाई सिलिन्डर उपलब्ध गराउने, रगत अभाव हुँदा व्यवस्थापन गर्ने तथा आर्थिक सहयोग गर्ने जस्ता कार्यक्रम सञ्चालनमा छन्।

यस्तै, सर्पदंशका बिरामीलाई उपचार खर्च सहयोग, अति विपन्न सुत्केरी आमालाई पोषण सहयोग, अन्तिम संस्कारका लागि आर्थिक सहयोग जस्ता कार्यले वडाको सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाएको छ। आवश्यक परेमा अन्य सवारी प्रयोग गर्दा लाग्ने खर्च व्यवस्थापनसमेत वडाले गर्दै आएको छ।

यसका साथै वडाले पूर्वाधार विकासमा पनि ध्यान दिँदै आएको छ। सडक स्तरोन्नति,  खानेपानी विस्तार, सरसफाइ अभियान तथा कृषि तालिम, उन्नत बीउ वितरणजस्ता कार्यक्रमले समग्र विकासलाई गति दिएको छ। शिक्षा र युवालाई लक्षित गरी विद्यालय सुधार, खेलकुद सामग्री वितरण तथा सीपमूलक तालिम सञ्चालन गरिँदै आएको छ।

कृषि उत्पादन वृद्धि र मानवीय सहयोगलाई सँगसँगै अघि बढाउँदै आएको वडा ८ ले आगामी दिनमा नगदेबाली विस्तार, कृषि आधुनिकीकरण र सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ। स्थानीय तहको सानो इकाइ भए पनि प्रत्यक्ष जनजीवनमा प्रभाव पार्ने यस्ता कार्यक्रमले वडा ८ लाई नमुना वडाको रूपमा स्थापित गराउने संकेत देखिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles