विराटनगर । अंग्रेजी भाषाको मोह र सामाजिक सञ्जाल तथा संचारमाध्यामको प्रभावले नेपालका मातृभाषाहरु लोपउन्मुख रहेको भन्दै भाषा विदहरुले चिन्ता व्यक्त गरेका छन् ।
नेपाली भाषा वा मातृभाषाको संरक्षण गर्नुको साटो अंग्रेजी माध्यमको नाममा पठाइने अंग्रेजी भाषाले नेपालका मातृभाषा तथा पूर्वीय दर्शनको क्षयीकरण भइरहेको उनीहरुको दाबी छ ।
भाषा आयोगको आयोजना विराटनगरमा आयोजित कार्यक्रममा भाषाका विज्ञहरुले नेपालका मातृभाषाहरु लोपहुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । नेपालमा बोलिने १ सय २३ वटा भाषाहरुको अस्तित्व अत्याधिक अंग्रेजी मोह र मातृभाषाप्रतिको हेलाका कारण अस्तित्व संकटमा पर्दै गएको उनीहरुको दाबी छ ।
अंग्रेजीको मोह राख्ने र भाषा संरक्षणमा चासो नदिने हो भने नेपाल नाम मात्रै रहने तथा पहिचान मेटिने उनिहरुको दाबी छ । विश्वकै उत्कृष्ट मानिएको पूर्वीय दर्शन र सभ्यता पनि भाषा संकटसँगसँगै हराउने भन्दै स्थानीय तहका प्रमुख तथा सरोकारवालालाई जिम्मेवार हुन भाषा आयोजका अध्यक्ष डा.लवदेव अवस्थीले आग्रह गर्नुभयो ।
प्रदेश नं. १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले भाषा–भाषाबीचको विभेद अन्त्य गर्दै सहअस्तित्वको आधारमा राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो । घिमिरेले भाषा धेरै बोल्ने र थोरैले बोल्ने आधारमा तलमाथि नहुने र सबैको अस्तित्व बराबर हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश नं. १ मा १ सय ६ वटा भाषाहरु रहेका छन् । जसमध्ये १ लाखभन्दा बढी जनसंख्या भएका भाषा १० वटा, १० हजारमाथि १ लाखसम्म जनसंख्या भएका भाषा २४ वटा र १० हजारभन्दा कम जनसंख्या भएका भाषा ७२ वटा रहेको भाषा आयोगको तथ्यांकमा उल्लेख छ ।
नेपालमा भने १ लाख भन्दा बढी जनसंख्या भएको भाषा १९ वटा रहेका छन् । प्रदेश १ मा सबैभन्दा कम जनसंख्या भएको भाषा अरवी, खाम्ची, काइके, दुरा हो भने सबैभन्दा बढी भाषा बोल्ने जनसंख्या नेपाली, मैथीलि र लिम्बू हो ।