लज्जास्पद लम्पसार - Pahilo Online

लज्जास्पद लम्पसार

सम्पादकीय

writer

पहिलो अनलाइन

हिन्दुराष्ट्रको पक्षमा आन्दोलन चर्काउन आफैंमाथि गोली प्रहार गर्ने आचार्य श्रीनिवास पक्राउ परेको केही दिनपछि नेपाललाई हिन्दु राष्ट्र बनाउन चाहने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदैछन् । एक हिसाबले नेपाल सरकारसँग परामर्श नगरी मोदी एक्लैले तय गरेको यो भ्रमणलाई नेपाल सरकारले धार्मिक र सांस्कृतिक भ्रमण भनेको छ ।

संविधानसभाबाट संविधान जारी भएपछि त्यसको विरोधमा नेपालमाथि नाकाबन्दी गरेर अमानवीय हर्कत गरेका मोदीको धार्मिक र सांस्कृतिक भ्रमणलाई नेपालको राष्ट्रवादी भनिएका केपी ओली ओली नेतृत्वको सरकारले दिएको महत्व भने उदेकलाग्दो छ । नेपालमाथि अमानवीय नाकाबन्दी थोपरेका मोदीलाई नागरिक अभिनन्दन गर्नेदेखि उनको स्वागतमा सडक बढार्ने काममा जनताका प्रतिनिधिहरु असिनपसिन भइ खटिरहेका छन् । नेपाली भूमिमा सुरक्षाको नाममा भारतीय सेना हतियारसहित उत्रिएका छन् । मोदीको आगमनमा नेपालको राज्य संयन्त्रले देखाइरहेको उत्साह चकित पार्ने खालको छ ।

नेपाली राष्ट्रवादी नेताहरूको मोदीप्रेम आम नेपालीहरूका लागि निःसन्देह चिन्ताको विषय हो । यो प्रकरणले नेपालका राष्ट्रवादी भनिएका नेताहरूका लागि राष्ट्रवाद, धर्मनिरपेक्षता र समाजवाद अन्तराष्ट्रिय र राष्ट्रिय बाजारहरूमा किनबेच गर्ने वस्तु मात्रै भएको बहस सुरु गरेको छ । मोदीलाई ठाउँ–ठाउँमा नागरिक सम्मान गर्ने र पूजाअर्चनाको नाममा पर्यटक र नेपालीहरुलाई हिँडडुलमै दुई दिनसम्म प्रतिबन्ध लगाउने कामा मोदीको नाकाबन्दीको डटेर सामना गरेका नेपालीहरुमाथिको अपमान हो । मोदीको नागरिक अभिनन्दनको तात्पर्य के हो सरकारले जवाफ दिन सकेको छैन । बरु आफ्नो राष्ट्रवादी छवीलाई लम्पसारवादमा लगेर विसर्जन गरेको छ । हिजो अरुण तेस्रोमा राष्ट्रवादको चर्को कुरा गर्नेहरुले नै अरुण भारतको जिम्मा लगाउँदैछन् । यसबाट नेपाली नेताहरुको राष्ट्रवादको कुरा पानीको फोका जस्तै बेमौसमी रहेको स्पष्ट बनेको छ ।

नेपालले सबै छिमेकीसँग समान र मित्रवत् व्यवहार गर्नुपर्छ । नेपाल लामो समयदेखि भारतको राजनीतिक, सांस्कृति र व्यापारिक दबाब र प्रभाबमा रहँदै आएको छ । संविधान जारी गरेपछि बनेको दुई तिहाई बहुमतको सरकारले त्यसबाट नेपाललाई मुक्त गर्ने नेपाली जनताको चाहना छ । तर, पछिल्लो समयमा सरकारले देखाएको भारतभक्ति र उत्तरी छिमेकी चिनसँगको सम्बन्ध विस्तारमा देखाएको उदासिनताले नेपाली जनता निरास बनेका छन् । जनताले गरेको विश्वास धर्मराउने खतरा बढेको छ । यसमा सरकार गम्भीर हुनुपर्छ । भुगोलमा मुलुक सानोठूलो भएपनि सार्वभौमसत्ता समान हुन्छ भन्ने प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार मोदीसामु लज्जास्पद रुपमा लम्पसार परेको नेपाली जनताले पचाउन सकेका छैनन् । यसबारे सरकार बोलोस् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes