विराटनगर । विराटनगरका ‘डन’एलिस गुरुङका विरुद्धमा अर्को मुद्दा दर्ता भएको खुलेको छ । विराटनगरस्थित गुद्री बजार सब्जीमण्डी व्यवसायी संघका अध्यक्ष पशुपति भगतलाई कुटपिट गरेको आरोपमा उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलेको थियो । उनले धरौटी बुझाएको भएपनि उनी अहिले प्रहरी हिरासतमै छन् ।
मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले गुरुङले अदालतमा धरौटी बुझाएको विषयमा आफूहरुलाई जानकारी नभए पनि व्यवसायी भगतले पुनः अर्को मुद्दा दर्ता गरेको कारण हिरासतमै राखिएको जानकारी दिनुभयो ।
‘उहाँलाई पक्राउ गर्ने क्रममा सहयोग गर्नुको सट्टा असहयोग गर्ने गरी गतिविधि पनि गर्नुभएको थियो,’ एसपी बिसीले भन्नुभयो, ‘व्यवसायीलाई अदालतमा मुद्दा परिसकेपछि पनि मुद्दा फिर्ता लिन दबाब र धम्की दिने गरि गुरुङले गतिविधि गरेको भन्दै पुनः मुद्दा परेको कारण उनलाई छोड्न सकिएको छैन ।’
प्रहरी स्रोतका अनुसार हिरासतमै रहँदा पनि प्रहरी अधिकारीलाई गुरुङले धम्क्याएको बताइएको छ । प्रहरीले धरौटीमा रिहा गर्ने मनशायका साथ प्रक्रिया अगाडि बढाएको थियो । तर, गुरुङले उल्टै धम्की दिन थालेपछि उक्त प्रक्रियाबाट प्रहरी पनि हच्किएको बुझिएको छ ।
विगतमा गुण्डागर्दीमा परिचय बनाएका एलिस हाल भने होटल व्यवसायीको रुपमा परिचित थिए । गुरुङले गत माघ ५ गते विराटनगरका व्यापारी पशुपति भगतलाई लेनदेनको विषयलाई लिएर मरणासन्न हुनेगरी कुटपिट गरेको आरोप छ । मोरङको कर्सियामा रहेको जग्गाको विषयमा गुरुङसँग भगतको विवाद भएपछि उनीमाथि आक्रमण भएको बताइएको छ ।
पक्राउ परेका गुरुङ विरुद्ध सार्वजनिक अपराधको मुद्दा चलिरहेको प्रहरीले जनाएको छ । गुरुङलाई प्रहरीले विराटनगरबाट गत फागुन ११ गते शुक्रबार पक्राउ गरेको थियो । हाल उनी मोरङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।