जनकुपुर । आज दोस्रो पटक प्रदेश २ को सरकार विस्तार हुने भएको छ । सरकारमा आज संघीय समाजवादी फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिने भएका छन् ।
फोरमले गृह (आन्तरिक मामिला तथा कानुन)मन्त्रीमा ज्ञानेन्द्रकुमार यादवलाई पठाएको छ । गृहमन्त्री बन्न लागेका यादव धनुषा ४ ‘क’बाट निर्वाचित सांसद हुन् ।
यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्र साहलाई पठाइएको छ । सप्तरी २ ‘क’बाट निर्वाचित साह मुख्यमन्त्रीको दावेदार थिए ।
फोरमले तीन राज्यमन्त्रीमा उशा यादव, सरोज सिंह र योगेन्द्र रायको नाम पठाएको छ । उशा अर्थ, सरोज गृह र यागेन्द्र भूमिव्यवस्था राज्यमन्त्री हुनेछन् ।
यस्तै राष्ट्रिय जनता पार्टी, नेपालले नवलकिशोर साह र रामनरेश रायलाई मन्त्री बनाउने निर्णय गरेको छ । वरिष्ठ उपाध्यक्ष साह सामाजिक विकास र वरिष्ठ नेता राय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नेछन् । राजपाले राज्यमन्त्रीहरु भने पठाएको छैन ।
फोरमबाटै यसअघि मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादव भइसकेका छन् । सत्ता साझेदार दल राजपाबाट जितेन्द्र सोनल भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।
नवनियुक्त मन्त्रीहरुको सपथ बुधबार विहान १० बजे तय भएकोमा राजपाले नाम छनौट गर्न ढिलाई गर्दा १ बजेलाई सारिएको छ ।