स्थानीय मिडिया प्रवर्द्धनमा सरोकारवालाको भूमिका विषयक अन्तर्क्रिया - Pahilo Online

स्थानीय मिडिया प्रवर्द्धनमा सरोकारवालाको भूमिका विषयक अन्तर्क्रिया

writer

पहिलो अनलाइन

उर्लाबारी। नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहयोग तथा सञ्चार क्लब नेपालको समन्वयमा बिहीबार ुस्थानीय मिडिया प्रवर्द्धनमा सरोकारवालाको भूमिकाु विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

उर्लाबारी–५ स्थित होटेल ग्राण्डको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय सञ्चार माध्यमको वर्तमान अवस्था, चुनौती, अवसर तथा प्रवर्द्धनका लागि स्थानीय सरकार, सञ्चार संस्था र अन्य सरोकारवालाको भूमिकाबारे व्यापक छलफल भएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका पूर्व कार्यवाहक अध्यक्ष मोहन भट्टराई ले कार्यपत्र प्रस्तुत गर्दै पूर्वी उत्तरी मोरङका सुन्दरहरैंचा, बेलबारी, लेटाङ, पथरीशनिश्चरे, उर्लाबारी नगरपालिका तथा मिक्लाजुङ र कानेपोखरी गाउँपालिकामा सञ्चालित छापा, एफएम, अनलाइन र डिजिटल सञ्चार माध्यमहरूले स्थानीय सूचना प्रवाह, सुशासन प्रवर्द्धन, नागरिक सचेतना तथा लोकतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे।

उनले अधिकांश स्थानीय सञ्चार माध्यम व्यवसायिकभन्दा पनि स्वरोजगारमुखी रहेको भन्दै सीमित स्रोत–साधनका बाबजुद समुदायको आवाज उठाउने काम गरिरहेको बताए।

भट्टराईले स्थानीय तहहरूमा सञ्चारमैत्री नीति कार्यान्वयनको अवस्था समान नरहेको उल्लेख गर्दै सुन्दरहरैंचा, पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाले सञ्चार कार्यविधि निर्माण गरी सूचना तथा लोककल्याणकारी सन्देश प्रकाशन–प्रसारणबापत स्थानीय सञ्चार माध्यमसँग सहकार्य गरिरहेको जानकारी दिए। लेटाङ नगरपालिकामा सञ्चार कार्यविधि पारित भए पनि कार्यान्वयन हुन बाँकी रहेको, बेलबारी नगरपालिकाले औपचारिक कार्यविधि नबनाए पनि स्थानीय सञ्चार माध्यमलाई सहयोग गर्दै आएको तथा मिक्लाजुङ, केराबारी र कानेपोखरीमा संस्थागत सहयोगको स्पष्ट नीति प्रभावकारी रूपमा कार्यान्वयन नभएको उनले औंल्याए।

कार्यपत्रमा ग्रामीण पत्रकारिताले सीमित विज्ञापन बजार, सरकारी विज्ञापनको असमान वितरण, दक्ष जनशक्तिको अभाव, बढ्दो सञ्चालन खर्च, डिजिटल माध्यमसँगको प्रतिस्पर्धा तथा पत्रकारहरूको न्यून पारिश्रमिकजस्ता चुनौती सामना गरिरहेको उल्लेख गरिएको थियो। यस्ता कठिनाइका बाबजुद स्थानीय सञ्चार माध्यमले प्राकृतिक विपद्, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकृति, स्थानीय सरकारका गतिविधि तथा जनप्रतिनिधिको जवाफदेहिताका विषयलाई निरन्तर प्राथमिकताका साथ उठाइरहेको कार्यपत्रमा उल्लेख छ।

भट्टराईले स्थानीय मिडियाको प्रवर्द्धनका लागि स्थानीय सरकारले स्पष्ट सञ्चार नीति तथा कार्यविधि निर्माण गरी पारदर्शी सहयोगको व्यवस्था गर्नुपर्ने, निजी क्षेत्रले विज्ञापन तथा सहकार्य बढाउनुपर्ने तथा नागरिक समाज, उद्योग–व्यवसाय, सहकारी र विकास साझेदार संस्थाले पनि स्थानीय सञ्चार माध्यमलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा स्वीकार गर्दै सहकार्य गर्नुपर्ने धारणा राखे। सञ्चार संस्थाहरूले पनि व्यावसायिकता, विश्वसनीयता, तथ्यमा आधारित पत्रकारिता तथा डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा आन्तरिक मामिला तथा कानून राज्यमन्त्री इन्द्रमणि पराजुली, उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका उपाध्यक्ष कुमोद अधिकारीलगायतले आफ्नो धारणा राखेका थिए ।

अन्तर्क्रियामा सहभागी पत्रकारहरूले स्थानीय सञ्चार माध्यमको दिगोपना, सञ्चारमैत्री नीति, समान विज्ञापन वितरण, पत्रकारको क्षमता अभिवृद्धि तथा स्थानीय सरकारसँगको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राई, अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराई, मिलन के। राउत लगायतले सुझावसहित आफ्नो धारणा राखेका थिए।

नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष शुशिला पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्रप्रसाद अधिकारीले गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles