मानहानि र चरित्रहत्या आरोपमा मोरङ प्रहरीमा उजुरी - Pahilo Online

मानहानि र चरित्रहत्या आरोपमा मोरङ प्रहरीमा उजुरी

निर्वाचन आचारसंहिताको विवादले मोरङ–३ मा चुनावी माहोल तत्दै

writer

पहिलो अनलाइन

मोरङ । मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी बढिरहेका बेला उम्मेदवारबीच आरोप–प्रत्यारोप कानूनी तहसम्म पुगेको छ । राष्ट्रिय उर्जाशील पार्टीका मोरङ–३ का प्रतिनिधिसभा उम्मेदवार भुवनकुमार वाग्लेले आफ्नो मानहानि तथा चरित्रहत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गराएका छन् ।

वाग्लेले दिएको उजुरीमा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माले सार्वजनिक मिडिया र अभिव्यक्तिमार्फत आफूलाई लक्षित गर्दै “मानसिक रोगी”, “पागल”, “दुर्व्यसनी” जस्ता शब्द प्रयोग गरेको उल्लेख छ । यस्ता अभिव्यक्तिले आफ्नो व्यक्तिगत गोपनीयता, मानसिक स्वास्थ्य, सामाजिक प्रतिष्ठा र राजनीतिक छविमा गम्भीर क्षति पुगेको दाबी उनले गरेका छन् ।

उजुरीमा वाग्लेले मुलुकी अपराध संहिता तथा व्यक्ति गोपनीयता र मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको हवाला दिँदै दोषीमाथि हदैसम्मको सजाय र क्षतिपूर्तिको माग गरेका छन् । उजुरीसँगै उनले सम्बन्धित अन्तरवार्ताको भिडियो प्रमाण, सामाजिक सञ्जालमा आएको समाचार तथा आफ्नो नागरिकताको प्रतिलिपि समेत संलग्न गरेका छन् ।

उक्त विषयमा जानकारी गराउँदै वाग्लेले राष्ट्रिय मानवअधिकार आयोग विराटनगर, अन्तर्राष्ट्रिय मानवअधिकार आयोग जेनेभा र निर्वाचन आयोग काठमाडौंलाई समेत बोधार्थ पठाएको जनाएका छन् । उनले आफूलाई “निष्कलंक उम्मेदवार” भन्दै लोकप्रियताको उन्मादमा राजनीतिक प्रतिद्वन्द्वीलाई पागल करार गर्ने प्रवृत्ति सामन्तवादी सोचको प्रतिविम्ब भएको टिप्पणी गरेका छन् । यसले विदेशमा रहेका र देशमै केही गर्ने सपना बोकेका नेपाली युवालाई निरुत्साहित गर्ने उनको भनाइ छ ।

यसअघि पनि भुवनकुमार वाग्लेले डा. सुनिल शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गराएका थिए । उक्त उजुरीमा शर्माले चुनाव प्रचारका क्रममा निर्वाचन आचारसंहिता विपरीत १० लाख रुपैयाँ बाँडेको आरोप लगाइएको छ । वाग्ले राष्ट्रिय उर्जाशील पार्टीको तर्फबाट मोरङ–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।

निर्वाचन आयोगमा उजुरी परेपछि डा. सुनिल शर्माले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै आफूविरुद्ध उजुरी गर्ने व्यक्ति मानसिक रोगी रहेको र उपचार आवश्यक भएको अभिव्यक्ति दिएका थिए । उनले वाग्लेको परिवारलाई समेत उपचार गराउन सुझाव दिएको दाबी गरेका छन् । यही अभिव्यक्तिलाई आधार मानेर वाग्लेले मानहानि र चरित्रहत्या भएको भन्दै प्रहरीमा कानूनी प्रक्रिया अगाडि बढाएका हुन् ।

एकपछि अर्को उजुरी र सार्वजनिक आरोप–प्रत्यारोपले मोरङ–३ को चुनावी माहोल थप तनावग्रस्त बनेको छ । यस प्रकरणमा सम्बन्धित निकायले कसरी अनुसन्धान र निर्णय अघि बढाउँछन् भन्नेमा राजनीतिक वृत्त र सर्वसाधारणको चासो बढ्दै गएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles