मुक्ति सेनाका कमाण्डर सुक्रराज संयोकको निधन - Pahilo Online

मुक्ति सेनाका कमाण्डर सुक्रराज संयोकको निधन

writer

मोहन भट्टराई

सुक्रराज संयोक

कानेपोखरी (मोरङ) । नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अग्रज योद्धा, मुक्ति सेनाका कमाण्डर तथा पूर्व राष्ट्रिय सभा सचेतक नेता सुक्रराज संयोक अब हामीबीच रहनु भएन। जीवनभर लोकतन्त्र, स्वतन्त्रता र जनअधिकारका लागि संघर्षरत रहनु भएका संयोकको ८९ वर्षको उमेरमा २०८२ माघ १९ गते साँझ ८ः३० बजे निधन भएको खबरले राजनीतिक वृत्त र लोकतन्त्रप्रेमी नागरिकलाई गहिरो शोकमा डुबाएको छ।

वि.सं. १९९३ साल पुष ७ गते ताप्लेजुङ जिल्लाको मैवाखोला–८, ताम्राङमा जन्मिनु भएका सुक्रराज संयोक नेपाली लोकतान्त्रिक आन्दोलनका ती पात्र हुनुहुन्छ, जसले जेलनेल, निर्वासन र जोखिमपूर्ण संघर्षलाई जीवनको हिस्सा बनाउनु भयो । निरंकुश शासनविरुद्धको आन्दोलनमा उहाँले देखाएको साहस, प्रतिबद्धता र नेतृत्व नेपाली राजनीतिक इतिहासमा सधैं स्मरणीय रहनेछ।

प्रजातन्त्र पुनर्स्थापनाका लागि सञ्चालित सशस्त्र तथा राजनीतिक आन्दोलनको क्रममा सुक्रराज संयोकले मुक्ति सेनाका कमाण्डरको जिम्मेवारी सम्हाल्नुभयो। आन्दोलनका कठिन दिनहरूमा उहाँ अग्रपङ्क्तिमा उभिएर निरंकुशताविरुद्ध लड्नुभयो। राज्यसत्ताको दमन, जेल जीवन र प्रवासका पीडाबीच पनि उहाँको विश्वास कहिल्यै डगमगाएन—लोकतन्त्र नै जनताको मुक्ति हो भन्ने दृढ आस्थामा उहाँ अडिग रहनुभयो।

राजनीतिक यात्रा र संसदीय योगदान

आन्दोलनपछि सुक्रराज संयोक संसदीय राजनीतिमा पनि सक्रिय रहनुभयो। उहाँले राष्ट्रिय सभाका सदस्य तथा सचेतकको भूमिकामा रहेर लोकतान्त्रिक संस्थाको सुदृढीकरणमा योगदान दिनुभयो। संसदभित्र र बाहिर उहाँ सधैं जनताको अधिकार, समावेशी लोकतन्त्र र न्यायपूर्ण राज्य संरचनाको पक्षमा स्पष्ट आवाज उठाउनुहुन्थ्यो।

सुक्रराज संयोक केवल एक नेता मात्र होइन, त्याग र निष्ठाको प्रतीक हुनुहुन्थ्यो। व्यक्तिगत सुख–सुविधाभन्दा राष्ट्र र जनतालाई प्राथमिकतामा राख्ने उहाँको जीवनदर्शन आजका पुस्ताका लागि पनि प्रेरणादायी छ। उहाँको भौतिक शरीर पञ्चतत्त्वमा विलीन भए पनि, लोकतन्त्रका लागि गरेको योगदान र संघर्षको स्मृति सदैव जीवित रहनेछ।

उहाँका छोरा जयराज संयोक, डा. देशराज संयोक, हंसराज संयोक र कृष्णराज संयोक तथा छोरी पारु हाङमा संयोक खापुङ सहित नातिनातिनाहरू शोकाकुल अवस्थामा हुनुहुन्छ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles