
पथरीशनिश्चरे । झापामा जन्मिएर पथरीशनिश्चरेलाई कर्मथलो बनाएका हेमभक्त गुरुङ सामाजिक सेवा, वन संरक्षण र पहिचानको राजनीतिमा निरन्तर सक्रिय व्यक्तित्व हुन् । उनको जीवनले स्थानीय स्तरमै परिवर्तन सम्भव छ भन्ने विश्वास दिलाउँछ ।
पथरीशनिश्चरे–१, मोरङ निवासी गुरुङको जीवन कथा केवल व्यक्तिगत संघर्षको कथा मात्र होइन, यो समुदाय निर्माण, सामाजिक उत्तरदायित्व र राजनीतिक चेतनाको लामो यात्रासमेत हो । झापामा ३०३२ साउन ३२ गते जन्मिएका गुरुङ बुबा स्व. डम्बरहादुर र आमा लिलामाया गुरुङका सन्तान हुन् । वि.सं. २०४८ सालदेखि साविक पथरी गाविसमा बसाइँ सरेपछि उनको सामाजिक र सार्वजनिक यात्राले स्पष्ट दिशा पायो ।
सामान्य रोजगारीबाट सुरु भएको उनको जीवन अनुभवले वैदेशिक रोजगारीसम्मको बाटो तय गर्यो । २०५०/०५१ सालमा ‘डिप विल्डर्स’ नामक क्रसर उद्योगमा एक वर्ष सुपरभाइजरका रूपमा काम गरेपछि उनी रोजगारीको सिलसिलामा कतार पुगे । कतारमा बिताएका सात वर्ष उनले केवल श्रमिक जीवन मात्र जिएनन्, त्यहाँ पनि सामाजिक उत्तरदायित्वबाट टाढा रहेनन् । मोरङ–सुनसरी सेवा समाजको कार्यसमिति सदस्य र गैरआवासीय नेपाली समाज दोहा, कतारका संस्थापक सदस्यका रूपमा उनले प्रवासमै सामाजिक सक्रियता देखाए ।
नेपाल फर्किएपछि २०६२–०६३ को जनआन्दोलनताका कुनै दलमा आबद्ध नभए पनि स्वतःस्फूर्त रूपमा सहभागी बने । यही कालखण्डपछि उनको सामाजिक नेतृत्व झन् प्रस्ट हुँदै गयो । २०६५ सालमा साविक पथरी गाविसमा नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद स्थापना हुँदा उनी संस्थापक सचिव बने । पछि पथरीशनिश्चरे नगरपालिका गठन भएपछि आदिवासी जनजाति महासंघको पहिलो अध्यक्षका रूपमा एक कार्यकाल नेतृत्व गरे ।
स्वास्थ्य क्षेत्र पनि उनको योगदानको अर्को महत्वपूर्ण पाटो हो । सरकारले देशव्यापी रूपमा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नुअघि नै पूर्वी नेपालको मंगलबारे स्वास्थ्य केन्द्रबाट सुरु गरिएको प्रयोगात्मक कार्यक्रमको गाउँस्तरीय व्यवस्थापन समितिमा सचिवका रूपमा काम गरे । उर्लाबारीदेखि बयरवनसम्मका विभिन्न गाविसलाई समेट्ने उक्त कार्यक्रमका लागि उनी सामाजिक परिचालकका रूपमा समेत सक्रिय रहे । साथै, पथरी उप–स्वास्थ्य चौकी व्यवस्थापन समितिमा सर्वपक्षीय प्रतिनिधिका रूपमा उनको सहभागिता रह्यो ।
वन र वातावरण संरक्षणमा हेमभक्तको भूमिका झन् प्रभावकारी देखिन्छ । पथरीशनिश्चरे–१ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहमा २०७१ सालमा उपाध्यक्षमा निर्वाचित भई २०७६ सालमा पुनः दोस्रो कार्यकाल सम्हाले । समूहका अध्यक्ष निलम्बनमा परेपछि साढे तीन वर्षसम्म कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै उनले संस्थालाई स्थायित्व दिए । यही अवधिमा वैज्ञानिक वन व्यवस्थापनको ढाँचा परिवर्तन गर्दै साधारण तथा सिमसार कार्ययोजना निर्माण, विधान संशोधन, शान्ति भुल्के सिमसार क्षेत्रमा चिल्ड्रेन पार्कलगायत संरचना निर्माणजस्ता महत्वपूर्ण काम भए ।
यही वन समूहको प्रतिनिधित्व गर्दै उनी सामुदायिक वन उपभोक्ता महासंघ, पथरीशनिश्चरे नगर समितिमा पहिलो कार्यकाल सदस्य र हाल दोस्रो कार्यकालमा सचिवको जिम्मेवारीमा छन् । उनका अनुसार वन संरक्षण र समूह नेतृत्वमा युवालाई आकर्षित गर्न युवामुखी कार्यक्रम, स्वरोजगारमुखी तालिम, खेलकुद र सिर्जनात्मक क्षेत्रमा बजेट विनियोजन अपरिहार्य छ ।
सांस्कृतिक तथा धार्मिक क्षेत्रमा पनि गुरुङ उत्तिकै सक्रिय छन् । तमु बौद्ध गुम्बा पथरीशनिश्चरे–१ मा सुरुमा लेखा समिति संयोजक हुँदै हाल दोस्रो कार्यकालका लागि महासचिवको जिम्मेवारी सम्हालिरहेका छन् ।
राजनीतिक रूपमा विद्यार्थी जीवनदेखि नै कम्युनिस्ट विचारधाराबाट प्रेरित गुरुङ जनमोर्चा नेपाल हुँदै नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र, त्यसपछि एकीकृत नेकपा माओवादी केन्द्रमा सक्रिय रहे । एकीकृत नेकपा माओवादी केन्द्रमा मोरङ क्षेत्र नम्बर २ का सह–सेक्रेटरीदेखि जिल्ला सचिवालय सदस्यसम्मको जिम्मेवारी सम्हाले । तमुवान राष्ट्रिय मुक्ति मोर्चा मोरङका अध्यक्ष र कोचिला राज्य समितिका सदस्यका रूपमा पनि उनले काम गरे । पछि पहिचानको मुद्दासहित अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा जिल्ला उपाध्यक्ष बने । वर्तमान राजनीतिक परिवेशमा भने उनी औपचारिक रूपमा कुनै जिम्मेवारीमा छैनन् ।
समुदाय, वन, स्वास्थ्य, संस्कृति र राजनीतिका अनेक मोर्चामा सक्रिय हेमभक्त गुरुङको यात्रा निरन्तर खोज र प्रतिबद्धताको कथा हो । पदभन्दा पनि प्रक्रियामा विश्वास गर्ने उनको जीवनदृष्टि स्थानीय नेतृत्व र सामाजिक रुपान्तरणका लागि एउटा उदाहरण बनेको छ ।

