पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले सञ्चालन गर्दै आएको ‘वडादेखि ढोकासम्म’ शीर्षकको कार्यक्रम अन्तर्गतको होमडेलिभरी सेवा निरन्तर रूपमा सञ्चालन भइरहेको छ। गत वर्षदेखि तयारी गरिएको यो कार्यक्रमले हाल वडावासीबीच उल्लेखनीय लोकप्रियता हासिल गरेको छ।
वडाध्यक्ष नवीन कार्कीका अनुसार नागरिकले सानो कागजातका लागि पनि दिनभरको काम छाडेर वडा कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। “एउटा कागज बनाउन कार्यालयका कोठा–कोठा धाउनुपर्नु नपरोस्, जेष्ठ नागरिक, अपाङ्गता भएका तथा असक्त व्यक्तिहरूलाई अनावश्यक दुःख नहोस्, साथै रोजगारीका लागि देश–विदेशमा रहेका नागरिकले पनि उतैबाटै आफ्नो परिवारका कागजात सहज रूपमा बनाउन सकून् भन्ने सोचले यो सेवा सुरु गरेका हौं,” वडाध्यक्ष कार्कीले बताए।
वडा नं. ८ मा होमडेलिभरी सेवामार्फत जन्म भएको ३५ दिनभित्रको जन्मदर्ता, मृत्यु भएको ३५ दिनभित्रको मृत्युदर्ता, जन्म तथा मृत्यु प्रमाणित, अस्थायी तथा स्थायी बसोबास प्रमाणित, विपन्न नागरिक सिफारिस, ६८ वर्ष पूरा गरेपछि प्रदान गरिने जेष्ठ नागरिक भत्ता कार्ड, अपाङ्गता परिचयपत्र तथा दीर्घरोगी सिफारिस उपलब्ध गराइँदै आएको छ।
त्यसैगरी रातो र निलो कार्ड भएका अपाङ्गता भएका व्यक्तिहरू तथा ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिकका सबै प्रकारका सिफारिस र प्रमाणितसमेत होमडेलिभरीमार्फत प्रदान गरिने वडाले जनाएको छ।
सेवा लिन इच्छुक नागरिकले आवश्यक कागजातहरू ९८४२०३४९१५ नम्बरको व्हाट्सएप, वडाध्यक्ष नवीन जंग कार्कीको फेसबुक आईडी, psmunward8@gmail.com मा इमेलमार्फत पठाउन सक्नेछन्। कागजात पठाउन नसक्ने नागरिकले वडा सदस्यमार्फत पनि बुझाउन सक्ने व्यवस्था गरिएको छ। वडाका अनुसार कागजात प्राप्त भएको २४ घण्टाभित्र जनप्रतिनिधिमार्फत सेवाग्राहीको घरमै कागजपत्र पुर्याइनेछ।
यस सेवाबाट नागरिकको समय बचत हुनुका साथै फाराम भर्ने र फोटोकपी गर्ने खर्चसमेत कटौती भएको वडावासीहरूको भनाइ छ।


