जाँते (मोरङ) । बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गर्दै आएका विभिन्न गतिविधिको कोशी प्रदेशका वन अधिकारीहरूको टोलीले स्थलगत अनुगमन गरेको छ।
सोमबार कोशी प्रदेश वन निर्देशनालयका डाइरेक्टर भरतबाबु श्रेष्ठ, डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापासहित वन अधिकृतहरूको टोलीले समूहद्वारा सम्पन्न तथा सञ्चालनमा रहेका वृक्षारोपण, घाटगद्दी व्यवस्थापन तथा अन्य सामुदायिक वनसम्बन्धी क्रियाकलापको अवलोकन गरेको हो।
अनुगमनका क्रममा टोलीले वन संरक्षण, दिगो व्यवस्थापन, वातावरणीय सन्तुलन र समुदायको सहभागितालाई अझ प्रभावकारी बनाउने विषयमा आवश्यक सुझाव तथा निर्देशन दिएको छ। साथै, सामुदायिक वनको दीर्घकालीन उपयोग र पारदर्शी व्यवस्थापनका लागि समूहले अवलम्बन गरेका अभ्यासको प्रशंसा गरिएको छ।
वन अधिकारीहरूले सामुदायिक वन उपभोक्ता समूहको सक्रियता स्थानीय स्तरमा हरियाली प्रवर्द्धन र वन संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।


