ऋतम्भरा कप भलिबलमा रेडस्टार र राष्ट्र निर्माण मावि च्याम्पियन - Pahilo Online

ऋतम्भरा कप भलिबलमा रेडस्टार र राष्ट्र निर्माण मावि च्याम्पियन

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे ।  मोरङको पथरी शनिश्चरेमा सम्पन्न प्रथम ऋतम्भरा कप अन्तर–२ नकआउट भलिबल प्रतियोगिता २०८२ अन्तर्गत छात्रा तथा छात्र दुवै तर्फ उपाधि विजेता टुंगो लागेको छ। छात्रा तर्फ रेडस्टार माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचालेको छ भने छात्र तर्फ राष्ट्र निर्माण माध्यमिक विद्यालय च्याम्पियन बनेको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा रेडस्टार माविको छात्रा भलिबल टिमले एभरेष्ट बोर्डिङ स्कुललाई ३–१ सेटको अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले सशक्त खेल प्रस्तुत गरे पनि निर्णायक क्षणमा रेडस्टारले अग्रता कायम गर्न सफल भयो।

यसैगरी, छात्र तर्फको फाइनलमा राष्ट्र निर्माण मावि रतुवामाईले मोरङ मोडल मावि, उर्लाबारीलाई ३–१ सेटको अन्तरले पराजित गर्दै च्याम्पियनको उपाधि जितेको छ। दुवै टिमबीच भएको खेल उत्साहजनक रहँदा दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो।

छात्र तथा छात्रा दुवै तर्फका विजेता टिमले १५ हजार रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टिमले १० हजार रुपैयाँ नगदसहित सम्मानित भएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी क्षेत्रद्वारा स्थापित ऋतम्भरा बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न प्रतियोगिताको उद्देश्य दुई तहका विद्यार्थीबीच खेलकुद क्षमताको विकास गर्नुका साथै आपसी मैत्री सम्बन्ध सुदृढ बनाउनु रहेको क्याम्पस प्रमुख टि.एन. तिम्सिनाले जानकारी दिनुभयो। उहाँका अनुसार यो प्रतियोगिता अब प्रत्येक वर्ष निरन्तर आयोजना गरिनेछ।

प्रतियोगितामा पथरी शनिश्चरे, उर्लाबारी, रतुवामाई, कानेपोखरी र लेटाङ पालिकाका विद्यालयहरूका खेलाडीहरूले सहभागिता जनाएका थिए। छात्र तर्फ १८ टिम सहभागी हुँदा छात्रा तर्फ पनि विभिन्न विद्यालयका टिमबीच प्रतिस्पर्धा भएको थियो।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल, ऋतम्भरा बहुमुखी क्याम्पसका संस्थापक राजु तिम्सिना, एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल रबिन कन्दङ्वा, वडा नम्बर २ का वडा सदस्य चन्द्रकुमार राई, मोरङ मोडल माविका प्रिन्सिपल हेमन्त गौतम तथा सञ्चालक सन्दीप पौडेल, राष्ट्र निर्माण माविका प्लस टु को–अर्डिनेटर अनिष कार्की, नगरपालिकाका सूचना संयोजक सन्तोष राई, अग्रज सञ्चारकर्मी अर्जुन जम्नेली राई, रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयका भाइस प्रिन्सिपल बसन्त मादेनलगायत अतिथिहरूले पुरस्कार प्रदान गर्नुभएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles