जेन्जी आन्दोलनपछिको पुनर्निर्माणमा एकताको उदाहरण : पथरी शनिश्चरे–९ ले गर्‍यो सहयोगी मनको सम्मान - Pahilo Online

जेन्जी आन्दोलनपछिको पुनर्निर्माणमा एकताको उदाहरण : पथरी शनिश्चरे–९ ले गर्‍यो सहयोगी मनको सम्मान

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । केही समयअघि सम्पन्न जेन्जी आन्दोलनले पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ लाई पनि छोएको थियो । आन्दोलनका क्रममा भएको तोडफोड र भौतिक क्षतिले वडा कार्यालयको नियमित सेवा प्रवाहमा अवरोध सिर्जना भयो । तर आन्दोलनपछिको अवस्थाले निराशा मात्र होइन, समाजभित्रको सहकार्य, जिम्मेवारी र मानवीय संवेदनाको सुन्दर पक्ष पनि उजागर गर्‍यो ।

जेन्जी आन्दोलनपछि उत्पन्न क्षतिलाई तत्काल पूर्ववत् अवस्थामा ल्याउन स्थानीयस्तरमै व्यक्ति तथा विभिन्न संघ–संस्थाले देखाएको सक्रियता र सहयोगले वडाको सेवा प्रवाह छिटो पुनः सञ्चालन हुन सक्यो । यही सहयोग, समर्पण र सामाजिक उत्तरदायित्वको कदर गर्दै पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ ले सहयोगी मनका धनी व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ ।

वडाध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा मंगलबार वडा कार्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा सहयोगीहरुलाई दोसल्ला ओढाइ प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको हो । कार्यक्रममा जेन्जी आन्दोलनका कारण क्षति पुगेको संरचना मर्मत, सरसफाइ तथा सेवा सुचारु गर्न गरिएको सामूहिक प्रयासको चर्चा गरिएको थियो ।

सम्मान कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले जेन्जी आन्दोलनको सन्दर्भ उल्लेख गर्दै आन्दोलन लोकतान्त्रिक अभ्यास भए पनि सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले आन्दोलनपछिको कठिन अवस्थामा वडालाई साथ दिने व्यक्ति तथा संस्थाले समाजमा सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो ।

उप–प्रमुख देविमाया काफ्लेले संकटको घडीमा देखिने सहयोग नै साँचो नागरिकको परिचय भएको बताउँदै यस्ता उदाहरणले स्थानीय शासनलाई अझ सबल बनाउने धारणा राख्नुभयो । प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले पनि सीमित स्रोतसाधनका बीच स्थानीय तहले सेवा प्रवाह निरन्तर राख्न सकेकोमा सहयोगीप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रम वडा सचिव दीर्गराज रायले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्यहरू, सम्मानित व्यक्ति तथा संस्थाका प्रतिनिधि र स्थानीय वडावासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

जेन्जी आन्दोलनपछि उत्पन्न असहज अवस्थालाई अवसरमा बदल्दै वडाले देखाएको पहल र नागरिकको सहयोगले पथरी शनिश्चरे–९ मा सामाजिक एकता र सहकार्यको बलियो उदाहरण प्रस्तुत गरेको छ । यो सम्मान केवल व्यक्तिलाई मात्र होइन, संकटमा पनि हातेमालो गर्ने संस्कृतिलाई गरिएको सम्मानका रूपमा स्थानीयवासीले लिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles