पथरी शनिश्चरे । पथरी शनिश्चरेमा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ भव्य रूपमा सञ्चालन हुने भएको छ। मंगलबार हरियाली सामुदायिक वनको सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत दिईएको हो।
पत्रकार सम्मेलनमा प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले आफ्नो शुभकामना मन्तव्य राख्दै यो प्रतियोगिता नगरको पहिचानसँग जोडिएको महत्वपूर्ण आयोजनाको निरन्तरता भएको बताउनुभयो। उहाँले नगरपालिकाले खेलकुदको विकास र युवा प्रतिभा प्रोत्साहनका लागि सधैं अग्रसर रहेको उल्लेख गर्दै गोल्डकपको सफल सञ्चालनका लागि सबै क्षेत्रका व्यक्तिहरूको सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकले प्रतियोगिता कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो। उहाँका अनुसार उद्घाटन खेलमा सलहेश युवा क्लब र भारतको सिलीगुडी कञ्चनजङ्घा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। विकका अनुसार काठमाडौंका ए–डिभिजन लिगमा सहभागी तीन टिमहरू सहितका उत्कृष्ट राष्ट्रिय र स्थानीय क्लबहरू यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको पहिलो विजेता टोलीलाई ५ लाख रुपैयाँ नगद पुरस्कार र ट्रफी, र उपविजेतालाई २ लाख ५० हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ। साथै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दि म्याचको रूपमा सम्मान गरिने र विभिन्न विधागत पुरस्कारहरू समेत प्रदान गरिने जानकारी विकले दिनुभयो।
आयोजकका अनुसार कार्तिक १६ गते दोस्रो दिनको खेलमा इन्ट्रा पथरी–११ फुटबल क्लब र ब्रिगेड बोईज क्लब (ललितपुर) बीच प्रतिस्पर्धा हुनेछ। तेस्रो दिन अर्थात् कार्तिक १७ गते संकटा फुटबल क्लब र पाँचथर फुटबल क्लब, चौथो दिन कार्तिक १८ गते एनआरटी फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धात्मक खेलहरू हुनेछन्।
सो प्रतियोगिताको मुख्य प्रायोजक ईन्ट्रा फाउण्डेशन अफ अमेरिका रहनेछ भने सह प्रायोजक पथरी शनिश्चरे नगरपालिका रहने पनि जानकारी दिईएको थियो।
पत्रकार सम्मेलनमा पथरी शनिश्चरे नगरपालिकाको खेलकुद विकास समितिका संयोजक दिपक राई, अखिल नेपाल फुटबल संघ (एन्फा) मोरङका प्रतिनिधि सन्जिव बुढाथोकी, पथरी–११ क्लबका टिम कोच अर्जुन बस्नेत लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा क्लबका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन पथरी–११ फुटबल क्लबका सचिव केशर थुलुङले गर्नुभएको थियो। आयोजक समितिका अनुसार यस वर्षको गोल्डकपलाई नगरको गौरवपूर्ण खेलकुद उत्सवका रूपमा रूपान्तरण गर्ने तयारी तीव्र रूपमा भइरहेको छ।
आगामी कार्तिक २२ गते सम्म “स्वास्थ्यका लागि खेलकुद ; राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सञ्चालन हुने उक्त प्रतियोगितामा ८ टिमले भाग लिँदै छन् भने जाँते रोडस्थित प्रस्तावित रङ्गशालामा झार ट्रिम सहित भिआइपी र नर्मल पिरामिड निर्माण गर्ने तयारी पूरा भएको छ।







