कम्युनिष्ट एकीकरणको बहस : पुनःसंघटन कि पुनरावृत्ति ? - Pahilo Online

कम्युनिष्ट एकीकरणको बहस : पुनःसंघटन कि पुनरावृत्ति ?

‘हँसिया–हथौडा नछोडौं, विचार नबिर्सौं’ — सविन सुस्लिङ मगर, ‘अब दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्छ’ — तुलसी ढकाल

writer

मोहन भट्टराई

सुस्लिङ मगर
पथरीशनिश्चरे । नेपालको वाम राजनीतिक वृत्त पुनः एक पटक एकीकरणको चक्रभित्र छ । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र अन्य केही साना वामदलबीच पार्टी एकीकरणका विषयमा उच्चस्तरमा छलफल भइरहेको बेला केन्द्रीय तथा स्थानीय नेताहरूका भनाइले यो विषय थप चर्चामा आएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य लालबहादुर सुस्लिङ मगर (सविन) र एकीकृत समाजवादीका जिल्ला सचिव तथा नगर अध्यक्ष तुलसी ढकालका भनाइले यो एकीकरणको दिशा र द्विविधा दुबै स्पष्ट देखाउँछन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य सविनका अनुसार पार्टी एकीकरणबारे आधिकारिक सर्कुलर नआए पनि केन्द्रीय तहमा लगातार छलफल चलिरहेको छ । “२–३ वटा पार्टीबीच एकताको कुरा भइरहेको छ, मंसिरतिर एकता वा माओवादी केन्द्रको महाधिवेशन दुबै सम्भावना खुलेका छन्,” उनले बताए । उनको बुझाइमा एकीकरणको मुख्य मर्म भनेको अहिले छरिएका कम्युनिष्ट शक्तिहरूलाई एउटै केन्द्रमा ल्याएर देशको वाम आन्दोलनलाई पुनःसंघटित गर्नु हो । तर, उनले चेतावनी दिए—“एकता केवल पद बाँडफाँड वा व्यक्तिगत स्वार्थका लागि भयो भने त्यो कम्युनिष्ट आन्दोलनकै लागि घातक हुन्छ।”
उनका अनुसार, एकीकरणको अर्थ केवल दुई पार्टी जोडिनु होइन, विचार, सिद्धान्त र कार्यदिशाको एउटै बाटोमा सहमति हुनुपर्छ । “विभिन्न खुद्रा पसलझैं बनेका कम्युनिष्ट पार्टीहरू एउटै मोर्चामा आएर अघि बढे भने राम्रो हुन्छ,” सविनले भने, “तर त्यो केवल वार्गेनिङ र पदको हिसाबले भए गलत सन्देश जान्छ।” उनले माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिन्ह परिवर्तनको सम्भावनाप्रति पनि असन्तुष्टि जनाए । उनका अनुसार, “गोलाकारभित्रको हँसिया–हथौडा चिन्ह जनतामाझ स्थापित भइसकेको छ, यो माओवादीको पहिचान पनि हो । त्यसैले यसलाई छोड्नु राम्रो होइन।”
सविनले माओवादी आन्दोलनको ऐतिहासिक योगदान र जनयुद्धको जगमा बनेको पहिचानलाई एकीकरणपछि पनि जोगाउनुपर्ने बताए । उनले भने, “यो एकीकरण अवसर पनि हो, तर त्यसलाई सही ढंगले सदुपयोग गर्न सकिएन भने चुनौती पनि बन्न सक्छ । जनताको पक्षमा उभिने, क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने र कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउने हिसाबले एकता भयो भने जनताले पनि फाइदा पाउँछन् ।”
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव तथा नगर अध्यक्ष तुलसी ढकालको बुझाइमा पनि एकीकरणको मर्म मूलतः कम्युनिष्ट आन्दोलनलाई बचाउने प्रयास हो । उनका अनुसार, अहिलेको राजनीतिक अवस्थाले देखाएको छ कि “एक व्यक्तिको अहंकार, दम्भ र असफल नेतृत्वका कारण कम्युनिष्ट पार्टीको जनविश्वास घट्दै गएको छ । त्यसैले अब बाँकी रहेका सबै कम्युनिष्ट शक्तिहरू एउटै ठाउँमा आएर समाजवादको यात्रालाई निरन्तरता दिनुपर्छ ।”
तुलसी ढकाल
ढकालका अनुसार, एकीकरणबारे जनस्तरमा मिश्रित प्रतिक्रिया छ । “जेन–जी आन्दोलनपछि जनतामा राजनीतिक दलहरूप्रति मोह घटेको छ । तर, माक्सवादी सिद्धान्त बुझ्ने कार्यकर्ताले यो कदमलाई सकारात्मक रूपमा लिएका छन्,” उनले बताए । स्थानीय तहमा भने गम्भीर छलफल र बहसको कमी रहेको उनले स्वीकारे । “हिजो एमाले–माओवादी एकीकरण पनि पूर्णरूपमा सफल हुन सकेको थिएन, पानीमा चिनी घुल्ने जस्तो घुलनशीलता आएको थिएन,” उनले स्मरण गरे, “त्यसैले यस पटक पनि त्यो गल्ती नदोहो-र्याई विचार र सिद्धान्तको स्पष्ट सहमतिका आधारमा मात्रै एकीकरण हुनुपर्छ।”
उनका अनुसार, पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई पुनःर्गठन गरेर शसक्त बनाउने धारणा अघि सारेका छन् । “झलनाथजी हाल छलफलमा पूर्ण रूपमा उपस्थित हुन नसक्नु एक कमजोरी हो, तर पार्टीको केन्द्रीय समितिले एकीकरण गरेर अघि बढ्ने निर्णय गरिसकेको छ,” उनले स्पष्ट पारे ।
ढकालले नेतृत्व हस्तान्तरणको आवश्यकता पनि जोड दिए । “माधव, झलनाथ र प्रचण्डपछिका दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर मात्रै वास्तविक एकीकरण सम्भव छ,” उनले भने, “पुरानो पुस्ता पुनः नेतृत्वमा रहँदा केवल सत्ताको समीकरण बदलिन्छ, विचारगत परिवर्तन आउँदैन।”
उनका अनुसार, अहिले करिब ६० प्रतिशत जनमत कम्युनिष्ट दलहरूको हो, तर ती दलहरू टुक्रा भएर बसेका कारण सत्ता–राजनीतिमा कमजोर बनेका छन् । “यदि ती शक्तिहरू एक ठाउँमा आए भने सत्ताको नेतृत्व पुनः वामपन्थीहरूले गर्न सक्छन्,” ढकालको भनाइ छ ।
ढकालले एमाले नेतृत्वका कमजोरीहरू पनि औंल्याए । “कोशी प्रदेशको नामाकरणका विषयमा एमाले नेतृत्वको असफलता, योगेश भट्टराईलाई लखेटिएको घटना, पहिचानको विषयमा असंवेदनशीलता, यी सबैले एमालेभित्रको असन्तुष्टि बढाएको छ,” उनले टिप्पणी गरे । उनले थपे, “जेन–जी आन्दोलन पनि केपी ओली प्रधानमन्त्री हुँदा नै भयो, त्यसैले एमाले नेतृत्वले जनविश्वास गुमाएको छ ।”
उनका अनुसार, यदि सही उद्देश्यका साथ एकीकरण भयो भने कांग्रेस कमजोर हुने र वामपन्थी शक्तिहरूको सम्भावना पुनः बलियो हुने देखिन्छ । “यो अवसर पनि हो, तर त्यो अवसरलाई सही दिशामा लैजान सकिएन भने फेरी चुनौती बन्न सक्छ,” ढकालले निष्कर्ष निकाले ।
समग्रमा, दुवै नेताहरूका भनाइले एकै कुरा जोड्छ—कम्युनिष्ट एकता केवल सत्ताको खेल होइन, सिद्धान्त र विचारको एक ढिक्का बनाउने अभियान हुनुपर्छ । यदि त्यो लक्ष्य स्पष्ट भयो भने यो देशमा वाम राजनीति पुनः सशक्त भएर फर्किन सक्छ । नत्र भने, एकीकरण केवल नाम र नेताको अदल–बदलमा सीमित भई अर्को विखण्डनको बीउ बोकेर आउनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles